सुशील गर्बुजा ह*त्यासम्बन्धी मुद्दामा छ जनालाई जन्मकैद
म्याग्दी। जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको ह*त्यासम्बन्धी मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका सहयोगी ठहरिएका थप नौ जनाको सजाय निर्धारणका लागि यही चैत २७ गते पेशी तोकेको हो।
रघुगङ्गा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोकका २१ वर्षीय गर्बुजाको विसं २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी ह*त्या भएको थियो।
जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले धवलागिरि गाउँपालिका–४ का २३ वर्षीय शंकर घर्ती, २२ वर्षीय अमृत पुर्जा, बेनी–५ का २४ वर्षीय सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय तोकिएको जानकारी दिए।
रघुगङ्गा–७ चिमखोलाका उत्सव पुन, मनिष तिलिजा, वडा नं २ का सञ्जन खत्री, मङ्गला गाउँपालिका–२ का प्रवीण जिसी, बेनी–९ का सविन राई, जलजला गाउँपालिका–३ पर्वतका सोहन बरुवाल, परिवर्तित नाम ४३ (त), ४३ (न) र ४३ (फ)लाई चैत २७ गतेको पेशीले सजाय निर्धारण गर्ने सूचना अधिकारी पौडेलले बताए।
बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ। सोह्र वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना सात दिन कैद भुक्तान गर्नुपर्ने उनले उल्लेख गरे। उनका अनुसार चौधदेखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने छ।
विसं २०८० फागुन १० गते अदालतले सुशीलको ह*त्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना वयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment