भोजपुरमा आजदेखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु हुँदै
काठमाडौँ। भोजपुरमा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।
आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् ।
प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले रु २० लाख सहयोग गर्ने भएको छ । अन्य रकम जिल्लाका विभिन्न पालिका र व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन गरिने महासचिव किरातीले बताए । कोशी प्रदेश खेलकुद विकास बोर्ड प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । विधागत रुपमा उत्कृष्टलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment