नेपाली गीत/संगीतको लेवल ‘दर्‍याम दर्‍याम’

डिसी नेपाल
२६ वैशाख २०८२ १५:०८

काठमाडौं। गीत/संगीतको बेग्लै मिठास हुन्छ। स्वरमा संगीतको सुर र आलाप गुन्जायमान हुन्छ। शब्द स्वर बनेर संगीत आलापभित्र चास्नी भइ घुलिदिन्छ र त यस्ता सिर्जना कालजयी बनेर मानव हृदयमा बस्छन्।

नेपाली गीत/संगीतको इतिहास बोकेकै कारण नारायण गोपाल ‘स्वर सम्राट’ स्वरका राजा बने। राम्रो कर्म गर्दा जुनसुकै क्षेत्रमा पनि सम्राट बन्न सकिँदो रहेछ।

उनका यो सम्झिने मन छ म बिर्सु कसोरी तिमि नै भनिदेउ हे जाने निठुरी, केही मिठा बात गर रात त्यसै ढल्किँदै छ जस्ता सयौं गीत जीवन्त छन्। सादय यसैलाई भनिन्छ, संगीतको बास्तविक शक्ति।

गीत/संगीत मानव जीवनको अभिन्न अंग पनि हो। गीत/संगीत विनाको संसार अपूर्ण हुन्छ। गीतका माध्यमबाट मानिसले आफ्ना भावना अभिव्यक्त गरेर मन हल्का पारिरहेका हुन्छन्। गीत सुनेर मानिसले आफूलाई फ्रेस तुल्याइरहेका हुन्छन्।

संगीत ईश्वरीय बरदान भएकै कारण जो कोहीलाई सजिलै मन्त्र मुग्ध पार्न सक्छ। नेपालमा त झनै गाउँ/ठाउँ अनुसार आफ्नै भाका र भाखा छन्। आधुनिक, शास्त्रीय, लोकगीत, पपलगायत थुप्रै जनरा छन्।

कुनै बेला मेलापातमा नेपाली भाका गुन्जिने गर्थे। घरघरको रेडियोमा त्यस्तै भाका बजिरहेका हुन्थे। तर, पछिल्लो समय नेपाली गीतको बजार फेरिएको छ। शैली फेरिएको छ।

सबै भाइरल हुने धाउन्नमा छन्। त्यसैको प्रतिफल हो पछिल्लो समय बजारमा निकै भाइरल रहेको गीत मकै बारी दर्याम दर्याम गीत। गायक विशाल सोनीको गीत मकै बारी दर्‍याम दर्‍याम युट्युब ट्रेन्डिङमै पर्‍यो। गीतमा गायक सोनीलाई गायिका सुष्मा शाही ठकुरी स्वरमा साथ दिएकी छन्।

गीतमा मैबारी दर्याम दर्याम, काचो काक्रा कर्याम कर्याम जस्ता शब्दको प्रयोग भएको छ। जसको अर्थ के हो नेपाली शब्दकोष पल्टाउँदा पनि भेटिँदैन।

यस्तै गीतका कारणले पछिल्लो दशकमा नारायण गोपाल, नातिकाजी, तारादेवी र त्यो पछिको पुस्ता रामकृष्ण ढकाल, शिशिर योगी जस्ता स्रष्टा जन्मिन सकेका छैनन्।

स्रोतामा गहिरो अनुभूति छोड्न सफल सारंगी त रेटे पनि, म यो देशमा एउटा मानिस खोजिरहेछु जस्ता दर्जनौं जीवन्त गीतका स्रष्टा शिशिर योगी पनि नेपाली गीत/संगीतको पछिल्लो बजारप्रति सन्तुष्ट छै‌नन्।

उनले सङ्लो हुने संकेत नदेखेपछि आफूले त्यसतर्फ कहिले पनि ध्यान नदिने गरेको बताएका छन्। ‘आफ्नो कर्म गर्ने हो। आफ्नो कर्मको ग्यारेन्टी लिन सकिन्छ। यहाँ डेमोक्रेसीका नाममा मनलाग्दी छ। कसलाई के भन्ने? हाम्रो राजनीतिक नेतृत्व गतिलो नहुँदा त्यसको प्रभाव सबैतिर परेको छ,’ उनले भने।

यस्तो अवस्थामा अरुलाई दोष दिने भन्दा पनि आफैंलाई दोष दिएर चित्त बुझाउनुको विकल्प नरहेको उनको चिन्तायुक्त टिप्पणी छ। ‘गीत/संगीत जीवन्त धारमा फर्किन गाह्रो छ। वितेको समय फर्केर आउँदैन। नयाँ स्वादका नाममा थुप्रै विकृति छ। मानिसमा महत्त्वाकांक्षा बढ्दो छ। महत्त्वाकांक्षाले मानिसलाई राम्रो बाटोमा डोर्‍याउँदैन। त्यसले आफूलाई र आफ्नो भावी पीडिलाई पनि विगार्छ। अहिले नेपाली सांगीतिक क्षेत्रको अवस्था यस्तै छ,’ उनले भने।

आफू बाचुन्जेल रमाउने र पछिल्लो पुस्ता जस्तो सुकै होस् चिन्ता हिन अवस्थामा अहिलेको पुस्ता रहेको उनले दुखेसो पोखे। ‘पछिल्लो समय के भाइरल भइरहेको छ। किन भाइरल भइरहेको छ भनेर मलाई दुखेसो छैन। किनकि मैले आफ्नो कर्म गर्ने हो। म किन जन्मेको र मैले के गर्दा सन्तुष्टि प्राप्त हुन्छ भन्ने मेरा लागि अहम विषय हो। मैले कस्ता खालका गीत/संगीत प्रस्तुत गरिरहेको छु। यी भाइरल होलान् वा नहोलान् भन्नेले पनि मेरो जीवनमा अर्थ राख्दैन। किनकि मैले राम्रो गर्ने हो र राम्रो कामको आयु लामो हुन्छ भन्ने मलाई थाहा छ,’ उनले भने।

अहिलेको अवस्थामा नेपाली गीत/संगीतको श्रृवृद्धि गर्ने दायित्व आफूहरूको भए पनि त्यसले कुनै काम गर्न नसक्ने उनको चिन्ता छ। उनी जस्तै अग्रज श्रष्टाहरूमा नेपाली गीत/संगीतको इतिहास दर्याम दर्याममा रमेको र त्यो इतिहास कतै दर्याम दर्याम च्यातिने त होइन भन्ने चिन्ता छ। उनीहरू युवा पुस्तालाई नेपाली गीतको इतिहास उच्च हुने गरी काम गर्न सुझाव दिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *