गण्डकी कोटिहोममा राधिका दासीको प्रवेश, देवी प्रतिभाको बिदाइ

डिसी नेपाल
१६ जेठ २०८२ १३:३१
396
Shares

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन्।

उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ। जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको भने आज बिदाइ हुनेछ।

मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले कोटिहोममा जेठ १७ देखि २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार÷प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन्।
‘यस्तो ऐतिहासिक कोटीहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ, यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु ’, फेसबुक लाइभमा उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनुहोला, म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटीहोममा भेटौंला।’

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए।

देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजले देवी र माताको प्रवचन श्रवण अवसरलाई सदुपयोग गर्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *