समाचार डिलिट गर्ने आदेश प्रेस स्वतन्त्रता विरोधी : प्रेस युनियन

डिसी नेपाल
२८ जेठ २०८२ १३:३४
24
Shares

काठमाडौं । समाचार प्रकाशित गरेको आधारमा अनलाइनबाट समाचार डिलिट गर्न अदालतले दिएको आदेश र पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गरेको विषयमा नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ। जिल्ला अदालत काठमाडौंले पछिल्लो पटक विजमाण्डु डटकम, नेपालखबर डटकममा प्रकाशित समाचार डिलिट गर्न अन्तरिम आदेश दिएको र टच टकमा समाचार प्रकाशित गरेको आधारमा पत्रकार दिलभूषण पाठकलाई प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको विषय प्रेस स्वतन्त्रता विरोधी भएको युनियनले जनाएको छ।

नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन स्वतन्त्र न्यायालयको पक्षमा रहेको स्मरण गराउँदै अदातलले डिजिटल प्रकाशनको मर्ममा असर पुग्ने गरी समाचारको तथ्य जाँच नगरी समाचार डिलिट गर्न दिएको अन्तरिम आदेश संवैधानिक मर्म विपरित भएको जनाएका छन्।

न्यायिक प्रक्रियाबाट प्रेस स्वतन्त्रतामा असर पर्ने यस्ता प्रेस स्वतन्त्रता विरोधी आदेश सच्चिनु पर्छ भन्ने युनियनले अपेक्षा गरेको जनाएको छ। त्यसैगरी, पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी भएको घटनाले सञ्चार क्षेत्रलाई त्रसित र चिन्तित बनाएको महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘समाचार चित्त नबुझे प्रेस काउन्सिल नेपाल जान सक्ने कानुनी व्यवस्था हुँदाहुँदै पत्रकारिता क्षेत्रलाई नियमन गर्ने कानुन अनुसार नभई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पत्रकारलाई मुद्दा चलाउने कार्य घोर आपत्तिजनक छ,’ युनियनले जारी विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ पुर्जी तत्काल फिर्ता लिन युनियन सम्बन्धित पक्षसँग आग्रह गर्दछ। ’

सञ्चार माध्यम र पत्रकारले पनि पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्छ भन्ने युनियनको मान्यता रहेको समेत युनियनले प्रष्ट पारेको छ। सञ्चार क्षेत्र र अदालतको गरिमा जोगाउनु हामी सबैको दायित्व रहेको बताउँदै त्रुटीहरुलाई सच्याउन स्वतन्त्र पे्रेसको मूल्य, मान्यतालाई आत्मसाथ गर्न युनियन सबै पक्षलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *