जहाँ जाँऊ लागिरहन्छ माया देशको…

काठमाडाैं। “मेरो पुर्खाले नेपाल आउन नपाई संसार त्याग्नु भयो। सात पुस्तापछि पहिलो पटक नेपाल आएकी हुँ। म आफुलाई निकै भाग्यमानी ठानेकी छु।”
म्यानमारबाट अस्मिता न्यौपाने नेपालमा पहिलोपटक आइपुगेको अनुभव सुनाउँदै भावुक भइन्। आफ्नो पुस्तौनी मुुलुकप्रतिको माया उनको हृदयमा भरिएको भाव झल्किन्थ्यो। आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष उनले नेपाल आउनुको खुशी त सुनाइन् नै, साथसाथै उनले गीत समेत गाएर नेपालीपन झल्काइन्।
उनको सपना सायद नेपाल टेलिभिजनबाट प्रशारण हुने गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन-२’ नभएको भए सम्भव हुने थिएन। मेरो भ्वाइस युनिभर्सकी सहभागी न्यौपाने जस्ता थुप्रै विभिन्न देशमा बसोबास गर्दै आएका युवा प्रतिभाहरुले सञ्चार मन्त्री गुरुङसमक्ष आफ्ना भावना साटासाट गरे।
उनीहरुले सामुहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषा भेषको, जहाँ जाँऊ लागिरहन्छ माया देशको…’ बोलको गीत समेत गाएर सुनाए। मन्त्री गुरुङका अनुसार नेपालमा सुगौली सन्धीपछि, विश्व युद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरि तीन तरिकाले नेपाली विभिन्न देशमा छरिएर रहेका छन्। विभिन्न कारण स्वरुप नेपाली जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैली मार्फत नेपाललाई विश्वमा चिनाउन सकिने मन्त्री गुरुङले बताए।
उनले खास गरि कला संस्कृति नै मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्त गर्ने हुँदा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ जस्ता रियालिटी शोले ठूलो सहयोग गरेकोमा आभार व्यक्त गरे।
“हामी जहाँ भएपनि नेपाली कला संस्कृति भुल्नुहुँदैन, नेपाल टेलिभिजनले यस्ता खाले कार्यक्रमलाई महत्व दिन्छ, र आगामी दिनमा पनि दिने छ”, उनले भने।
मन्त्री गुरुङले केही कारणबस सिमाना छुट्टीएपनि नेपाली संस्कृति, संस्कार र भाषाले हामी सबै नेपालीलाई एकतामा बाँध्ने गरेको बताए।
अमेरिकास्थित भुटानी नेपालीहरुको सेवामुलक सामाजिक संस्था इन्ट्रा फाउन्डेसनद्वारा उत्पादित गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ तीन वर्षअघि शुरु भएको हो। हाल यी दुबै रियालिटी शोका सिजन-२ नेपाल टेलिभिजनमार्फत प्रशारण भइरहेको छ।
फाउन्डेशनका कार्यकारी निर्देशक चुडामणि भट्टराईका अनुसार संसारभर छरिएका नेपाली मुलका नागरिकलाई गायन र नृत्य कलामार्फत एउटै मालामा गाँसेर नेपाली साँस्कृतिक पहिचानलाई विश्वभर प्रबद्र्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ। दुबै शोमा विभिन्न ६० मुलुकबाट सहभागिता भई हाल १३ देश प्रतिभा उत्कृष्ट १८ को सूचीमा प्रवेश गरेका छन्।
“हामी नेपाली संसारका जुनसुकै भुभागमा पुगेपनि आफ्नो मौलिक कला-संस्कृति र भाषा बोकी हिँडेका हुन्छौं’, कार्यकारी निर्देशक भट्टराईले भने, ‘त्यही भाषा र संस्कृतिको धागोमा बाँधिएर आज संसारभरका नेपालीहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको प्लाटफर्ममा आबद्ध भएका छौं।’
इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पना रहेको ‘मेरो भ्वाइस युनिभर्स’ बिहीबार र शुक्रबार साँझ र ‘मेरो डान्स युनिभर्स’ आइतबार र सोमबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ।
दुबै रियालिटी शोको प्रथम हुनेलाई जनही १-१ करोड रुपैया, दोस्रोलाई २५-२५ लाख, तेस्रो हुनेलाई १०-१० लाख रुपैयाँ र उत्कृष्ट दशमा पर्ने सहभागीले जनही ३ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने बताइएको छ।
Facebook Comment