एनपीएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन, खेल क्षेत्रमा राजनीति नगर्न आग्रह
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा कसैले पनि राजनीति नगर्न आग्रह गरेका छन्।
बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भएपनि खेलकुद क्षेत्रमा भने कसैले पनि राजनीति गर्न नहुने बताएका हुन्। खेल क्षेत्रमा आएका व्यक्तिहरुले राजनीति गर्न नभइ खेल क्षेत्रको विकास गर्न ध्यान दिनुपर्ने उनले बताए।
प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी गर्न समेत निर्देशन दिए। नेपाल प्रिमियर लिग राष्ट्रको गौरवको विषय भएकाले यसलाई अघि बढाउन खेलकुद मन्त्रालय, राखेप र क्यान सबैको ध्यान जानुपर्ने उनले बताए।
त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद पटक–पटक स्थगित गरिनु लज्जाको विषय भएको भन्दै अब २०८२ मंसिरमा जसरी पनि राष्ट्रिय खेलकुद आयोजना गर्न निर्देशन दिए। उनले भक्तपुर र झापामा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने र कीर्तिपुर रंगशालाको पनि विभिन्न फेजमा विस्तार गर्ने जिकिर गरे।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार खेल क्षेत्रको विकासका लागि गम्भीर रहेकाले आगामी वर्षका लागि यस क्षेत्रको बजेट दोब्बर बनाइएको बताए।
राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि सातदोबाटोमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब निर्माण गरेको हो। एकैपटक सय भन्दा खेलाडीले प्रशिक्षण गर्नसक्ने गरि ल्याब निर्माण गरिएको राखेपले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment