रूपन्देही ३ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय तालिका सार्वजनिक गरेको छ।
आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय भएको जनाएकी छन्।
रूपन्देही ३ मा आगामी कातिक १७ गते उपनिर्वाचन हुँदैछ। उक्त उपनिर्वाचनमा २०८२ साल कातिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मतदान गर्न पाउँछन्।
अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण यही साउन १४ गते वेबसाइटमा प्रकाशन गरिने आयोगले जनाएको छ। साउन १५ गतेदेखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सकिने छ।
कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्य पनि यही अवधिमा हुने सूचनामा उल्लेख छ।
आगामी भदौ २५ गते मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा भएर अन्तिम मतदाता नामावली प्रकाशित गर्ने आयोगले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment