आफैंले बनाएको गृहमन्त्रीको रिपोर्ट कार्ड : नियमित काम आफैंले गरेको दावी, कमजोरी ढाकछोप
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफैंले आफ्नो मूल्यांकन गर्दै आफ्नो एक वर्षको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् । आफ्ना एक वर्षका काम समावेश गरिएको भनिएको यो रिपोर्टमा गृहमन्त्रीले आफूले नै गर्नु नपर्ने तर राख्यका स्थापित निकायहरुले नियमित प्रक्रियाका रुपमा गर्ने कामहरुलाई पनि आफैंले गरेको जस्तो गरी प्रचार गरेका छन् । आफ्ना कमजोरहिरुलाई ढाकछोप गरेका छन् ।
उनले आफूले गरेको सबैभन्दा महत्वपूर्ण कामको रुपमा प्रतिवेदनको सुरुमै तीनकुनेमा भएको राजतन्त्र समर्थकहरुको प्रदर्शनलाई ‘किनारा लगाएको’ बताएका छन् । तर, यो घटनामा राज्यबाटै दमन भएको आरोपमा सम्बन्धमा केही पनि बोलेका छैनन् । घटनाको दिन तीनकुनेमा खिचिएको भनिएका केही भिडियोमा राष्ट्रिय गान बज्दै गर्दा स्टेजमै अश्रु ग्यास प्रहार भएको देखिएको थियो । तर, यस विषयमा गृहमन्त्री मौन छन् ।
उनले आफ्नो कार्यकालमा कानुन निर्माणका काम सबैभन्दा धेरै भएको दावी गरेका छन् । तर, धेरै वर्ष अगाडिदेखि सर्वोच्च अदालतले कानुन बनाउन ताकेता गरिरहेको तर बन्न नसकेका कानुनहरु अझै पनि नबनेको विषयमा उनी मौन छन् । सर्वोचचले प्रहरी ऐन बनाउन निर्देशन दिएको एक दशकभन्दा बढी भइसक्यो तर त्यसलाई अझैसम्म संसदमा निर्णयार्थ पेश गरिएको छैन ।
आफैंले जागिरमा राखेका निजी प्रेस संयोजकले समाचारको शैलीमा लेखेको यो रिपोर्ट कार्डमा गृहमन्त्रीले आर्थिक विकासलाई चलायमान बनाउने र राष्ट्रको विकास निर्माणलाई तीव्रता दिने काम गरेको दावी गरिएको छ । तर, यी कामहरु गृहमन्त्रीको क्षेत्राधिकारभित्र नै पर्दैनन् ।
उनले विभिन्न अपराधको आरोप लागेर फरार भएका व्यक्तिहरु पक्राउ गरिएको विषय पनि आफ्नो कामको रुपमा उल्लेख गरेका छन् । तर, अदालतले पक्राउ गर्न निर्देशन दिइसकेका व्यक्तिलाई पक्राउ गर्न गृहमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिनै पर्दैन । अदालतले आदेश दिइसकेपछि सुरक्षा निकायले आफैं गर्न सक्ने र गृहमन्त्रीले छुट्टै निर्देशन दिनै नपर्ने काम समेत आफूले गरेको दावी गर्दै गृहमन्त्रीले जस लिन खोजेका छन् ।
गृहमन्त्रीले ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनको आरोप लागेका ज्योतिबहादुर भण्डारीलाई पक्राउ गरिएको सगर्व घोषणा गरेका छन् । तर, यही सहकारीको रकम अपचलनको आरोप लागेकी ज्योति गुरुङको बारेमा केही बोलेका छैनन् । ज्योति गुरुङ रकम अपचलन भएका बेला गृहमन्त्रीकै पार्टी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी श्रीमती थिइन् ।
पछि धनराज र ज्योतिले सम्बन्धविच्छेद गरिएको दावी गरिएको छ । तर, धनराजको यो दावीमाथि प्रश्न उठे पनि अनुसन्धान गरिएको छैन । सहकारीको रकम आफू संचालक रहेको कम्पनीमा आएका कारण पूर्व गृहमन्त्री रवि लामिछाने थुनामा छन् । तर, सहकारीको अवैध रकम आफ्नो घरमा आएका कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान नै भएको छैन । यस विषयमा पनि गृहमन्त्री मौन छन् ।
गृहमन्त्रीले प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरेको सगर्व घोषणा गरेका छन् । उनले यो डेस्कबाट दलितमाथि हुने भेदभाव, छुवाछुत र उत्पीडनका घटनामा प्रभावकारी अनुसन्धान हुने दावी गरेका छन् । तर, यी तिनै गृहमन्त्री हुने जसमाथि अन्तरजातीय विवाह गरेकै कारण एक जोडीलाई प्रताडित गरेको आरोप लागेको थियो । गृहमन्त्रीकै निर्देशनमा प्रहरीले जोडीलाई भारत पुगेर पक्रोर ल्याएको थियो । तर, त्यो जोडीले केवल विवाह गरेका थिए, अपराध गरेका थिएनन् ।
गृहमन्त्रीले विपद रोकथाम र विपदपछि राहतका कार्यमा आफू सक्रिय रहेको दावी गरेका छन् । विपदमा उद्धारको काम प्रभावकारी बनाइएको उनको दावी छ । तर, गत वर्ष राजधानीमै ठूलो बाढी आउँदा टहरोको छानोमा आश्रय लिएका पीडितहरुलाई उद्धार गर्न समयमै काम गर्न नसक्ने गृहमन्त्री यिनै हुन् । पीडित घण्टौंसम्म उद्धारको प्रतीक्षा गरेपछि बाढीमा बगेर ज्यान गुमाएका थिए । गृहमन्त्रीले भिजिबिलिटी नभएर उद्धार नभएको गैरजिम्मेवार जवाफ दिएका थिए ।
गृहमन्त्रीले आफ्नो कार्यकालमा फैसला कार्यान्वयनमा विशेष जोड दिइएको दावी गरेका छन् । तर, आफ्नै कार्यकालमा फैसला अदालतबाटै भएको हो कि होइन भन्ने सामान्य जाँचबुझ पनि नगरी हचुवामा भरमा राजनैतिक दलका प्रमुखलाई बिनाकारण जेलमा हालिएको घटनालाई उनले लुकाएका छन् । उनकै कार्यकालमा सर्वोचच अदालतले कुनै आदेश नदिएको अवस्थामा किर्ते कागजमा हाधारमा प्रहरीले नागरिक उत्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जेलमा थुनेको थियो ।
गृहमन्त्रीले आफ्नो कार्यकालमा कर्मचारीको सरुवा र बढुवालाई पनि पारदर्शी बनाइएको दाबी गरेका छन् । तर, आफैंले एकल निर्णयका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई रातारात सरुवा गरेका थिए । भट्टराईले गृहमन्त्रीकै निर्देशनमा विमानस्थलमा यात्रुहरुबाट अवैध रुपमा ठूलो रकम असुल्ने गरेको आरोप लागेको थियो ।
सोही विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलको अध्यागमन कार्यालयमा छापा मार्न लागेको सुईको पाएपछि गृहमन्त्रीले उनलाई रातारात सरुवा गरेर मन्त्रालय तानेको आरोप लागेको थियो । गृहमन्त्रीले प्रमाण लुकाउन भट्टराईलाई सरुवा गरेको आरोप लागेको भए पनि गृहमन्त्रीले अनुसन्धानको लागि बाटो खुला गरेका छैनन् ।







डिसी नेपाल








Facebook Comment