वर्तमान गठबन्धनको सरकारमा कांग्रेस निरीह देखियो : डा. शेखर कोइराला

डिसी नेपाल
६ साउन २०८२ १३:४९
104
Shares

काठमाडााैं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धनको सरकारमा कांग्रेस निरीहजस्तै देखिएको टिप्पणी गरेका छन्।

बिपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा मंगलबार काठमाडौंमा आयोजना कार्यक्रममा कोइरालाले गठबन्धनको सरकारमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गर्दा कांग्रेस निरीहजस्तै देखिएको बताएका हुन्।

उनले कुलिङ अफ पिरियडलाई हटाउने एमालेको प्रयास स्वीकार्य नहुने बिषय पार्टी सभापतिले प्रधानमन्त्रीलाई स्पष्ट राख्न सक्नुपर्ने बताए।

कुलिङ अफ पिरियडका बिषयमा कांग्रेस सांसदहरुका साथै राज्य व्यवस्था समितिका सभापतिको समेत गल्ती रहेको उनले बताए। तर सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन भन्ने बुझ्न जरुरी रहेको कोइरालाको भनाइ छ।

उनले टेक एण्ड पे र टेक अर पेमा लिएको अडान जस्तै कुलिङ अफ पिरियड समेत सभापतिको अडान आवश्यक रहेको उल्लेख गरे। त्यस्तै कोइरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न एमालेले हतार गरेको र भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराएको बताए।

उनले कास्की जिल्ला कमिटीले भूमिमन्त्रीको राजीनामा माग्दा कांग्रेस लाचार भएर बसेको धारणा दाबी गरे। नेपाली कांग्रेसको कोर भ्यालुमा अडान नराखेसम्म यस्ता समस्या आइरहने भन्दै उनले समस्या निराकरणका लागि नेतृत्वले ध्यान दिनुपर्ने बताए।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिकुलता र जटिलताबाट अहिले गठबन्धनको सरकार बनेको भन्दै सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए। कुलिङ अफ पिरियड र भूमि विधेयकका सन्दर्भमा दुई दलको फरक मतलाई हल गर्न प्रधानमन्त्री गम्भीर हुनुपर्ने उनले बताए।

महामन्त्री शर्माले कुलिङ अफ पिरियडमा कांग्रेसको भावना बिपरित एमाले अघि बढ्न खोजे गठबन्धनमा दरार आउन सक्ने चेतावनी दिए। सरकारलाई सफल बनाउने सर्तमा सवै बिषयलाई सहजै स्वीकार गर्न नसकिने उनले स्पष्ट पारे।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले दुईदलले एकअर्काको दृष्टिकोणलाई स्वीकार गर्न सके मात्रै गठबन्धन सफल हुने बताए। उनले सर्वसम्मतबाट पास भएको कुलिङ अफ पिरियडको बिषयमा कांग्रेसले कम्प्रमाइज गर्न नसक्ने स्पष्ट पारे।

भूमि विधेयक लगाएत महत्वपूर्ण बिषयमा पनि एकलौटी लाद्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ। उनले गठबन्धनको सरकार गठन हुँदा दुई दलबीच भएको सहमति अनुसार संविधान संशोधनको बिषयलाई समेत अघि बढाउनुपर्नेमा जोड दिए। अहिलको गठबन्धन सरकार ८४ सम्म निरन्तर लैजान सरकारको प्रभावकारीता बढ्नुपर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.