कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीच एकता हुनुपर्छ: अध्यक्ष नेपाल

डिसी नेपाल
६ साउन २०८२ २३:३०
48
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक प्रगति र जनताको समृद्धिका लागि सबै वामपन्थी शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले वामपन्थी शक्तिबीचको धुर्वीकरणले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बताउँदै कम्युनिष्ट पार्टीका भूमिकाबारे उल्लेख गरे।

समाजवादी क्रान्तिको विश्लेषण गर्दै अध्यक्ष नेपालले शक्ति तथा संगठन विस्तारका लागि कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिए। उनले समाजवादी क्रान्तिलाई पूरा गर्न वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीसँग एकताका प्रयास भएको जानकारी दिए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट आदर्श अवलम्बन गर्ने पार्टी तथा नेतृत्वमा आएको वैचारिक विचलनले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा संकट देखापरेको बताए।

मुलुकमा जनताको लामो समयदेखिको संघर्षबाट राजनीतिक व्यवस्था परिवर्तन भए पनि सामाजिक रूपान्तरण हुन नसकेको बताउँदै उनले सुशासन कायम हुन नसकेकै कारण समाजमा भ्रष्टाचार, गरिबी, बेरोजगारी बढेको विचार व्यक्त गरे।

मुलुकको आवश्यकताअनुसार माक्र्सवादलाई परिमार्जन गर्नुपर्ने बताउँदै अध्यक्ष नेपालले आफ्नो पार्टीले अंगिकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.