प्राधिकरणलाई नाफामा लगेर निर्यात पाँच अर्ब पुर्याउनु मेरो सफलता हो: कुलमान घिसिङ
लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन्।
अमेरिकाको दुइ साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात पाँच अर्ब रुपैयाँ बढी भएको बताएका हुन्।
उनले भने, ‘चार महिना कार्यकाल बाँंकी छँदै कार्यसम्पादन मूल्यांकनमा शून्य दिएर सरकारले मलाई बर्खास्त गरेपनि देशविदेशबाट सम्मान, माया सद्भाव पाएको छु त्यही नै मेरो सम्पत्ति हो।’
उनले अहिले उज्यालो नेपाल अभियान लिएर प्रवासमा रहेका नेपालीलाई जोड्न भ्रमणमा निस्किएको बताए। अभियानको मुख्य उद्देश्य नेपालमा समृद्धिको खाका कोर्ने, दोस्रो देश विदेशमा नेटवर्किङ विस्तार र तेस्रो राम्रो पोलिटिकल लिडरसीप टिम जन्माउने रहेको उनले प्रष्टयाए।
घिसिङलाई सोमबार हिथ्रो विमानस्थलमा एनआरएनए युके, तमु धिं युकेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए। नेपाललाई संसारभर गोर्खाज् भनेर चिनाउने समुदायमाझ उभिन पाउंदा आफू गौरवान्वित भएको बताउंदै उनले झण्डै २० वर्षपछि यूके आउंदा पाएको माया र सद्भावप्रति आभार व्यक्त गरे।
कार्यक्रमका सभापति तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले घिसिङले शुरु गरेको उज्यालो नेपाल अभियानको सफलताको कामना गर्दै देशलाई उज्यालोतर्फ अघि बढाउने उनको आकांक्षा साकार बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा. विशाल गुरुङले घिसिङले कार्यक्रम संचालन गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment