निगमको दाबी कागजमै सीमित: सुकेधारामा ग्यासका लागि उपभोक्ताको लामो लाइन (फोटोफिचर)
काठमाडौं। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपीजी ग्यासको पर्याप्त आपूर्ति रहेको र कुनै अभाव नरहेको दाबी गरिरहे पनि काठमाडौं उपत्यकाका आम उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्।
काठमाडौंको सुकेधारा, बालुवाटार तथा आसपासका डिपोहरूमा ग्यास लिन बिहानैदेखि रित्तो सिलिन्डर बोकेर उपभोक्ताहरू घण्टौँ लामो लाइनमा बस्न बाध्य भएका छन्।
यसअघि केही महिना आधा सिलिन्डर (७.१ केजी) मात्रै बिक्री-वितरण गरिएकोमा निगमले हालैबाट पूरै भार (१४.२ केजी) को सिलिन्डर बिक्री खुला गरेको छ।
आधा सिलिन्डरको भरमा गुजारा गरिरहेका उपभोक्ताहरू एकैपटक पूर्ण सिलिन्डर खरिदका लागि डिपो पुग्दा र खुद्रा विक्रेता तथा केही बिचौलियाहरूले कृत्रिम अभाव सिर्जना गरी सञ्चित (होडिङ) गर्दा बजारमा एकाएक चाप बढेको व्यवसायीहरूको भनाइ छ।
आयल निगमका अनुसार दैनिक औसत १४३ बुलेट ग्यास भित्रिरहेको र बजारमा मागभन्दा बढी आपूर्ति भइरहेको छ। तर, आधिकारिक डिलर प्रणाली व्यवस्थित नहुनु, किराना पसलहरूबाट अव्यवस्थित बिक्री हुनु र उपभोक्तामा अभाव हुने मनोवैज्ञानिक त्रासका कारण समस्या देखिएको निगमको दाबी छ।
सरकारी तथ्यांक र दाबी जे-जस्तो भए पनि प्रत्यक्ष मारमा परेका सर्वसाधारण भने चुलो बाल्नै धौ-धौ भएपछि रित्तो सिलिन्डर सडकमै छाडेर लाइनमा बस्न विवश छन्।
(तस्बिर : सक्षम घिमिरे / नेपाल न्यूज बैंक)


















No ads found for this position

डिसी नेपाल
Facebook Comment