निःशुल्क शिक्षा र स्वास्थ्यलाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढेको छः मुख्यमन्त्री बानियाँ

डिसी नेपाल
३१ साउन २०८२ २३:२०
28
Shares

भक्तपुर। बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले निःशुल्क शिक्षा र स्वास्थ्यलाई केन्द्रविन्दुमा राखेर प्रदेश सरकार अगाडि बढेको बताएका छन्।

चाँगुनारायण नगरपालिका–५ छालिङ्ग गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा निर्माण गरिएको श्रीकृष्णको श्रीमूर्तिको प्राणप्रतिष्ठा एवं अनावरण गर्दै उनले सरकार स्पष्ट योजनासहित अगाडि बढेको बताएका हुन्।

उनले आफू मुख्यमन्त्री भएलगत्तै प्रदेशका १३ वटै जिल्लामा सबै नागरिकलाई सहज पहुँच हुनेगरी निःशुल्क शिक्षा र स्वास्थ्य सेवा लागू गर्नेगरी कार्ययोजना अगाडि लैजाने निर्णय गरेको बताए।

मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकले गरिब, असहाय, अल्पसङ्ख्यक, पछाडि परेका वर्गका छ जना विद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा र १० जनालाई निःशुल्क नर्सिङ पढाउने निर्णय गरेको जानकारी दिए। श्रीकृष्ण भगवान्को जन्म पनि कष्टबाटै सुरु भएको र गरिब सुदामालाई साथी बनाएर गरिब, दीनदुःखीका लागि काम गर्ने र कंस जस्ताको अन्त्य गर्दै समाजवादको उदय गराएको भन्दै उनले हालको समय पनि त्यही अवस्थामा आइपुगेको चर्चा गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले देशमा केही छैन भनी युवाहरू आत्तिएको उल्लेख गर्दै धैर्य गरेर देशमै आत्मनिर्भर बन्न लाग्नुपर्ने र त्यसमा सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, भारतबाट आएकी श्रीश्री १००८ श्री महामण्डलेश्वर सरिता गिरीलगायतले सम्बोधन गरेका थिए।

त्यस अवसरमा १०० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकका साथै मन्दिर निर्माणमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो। यहाँ एउटै ढुङ्गाबाट २५ हजार ७७७ किलोग्रामको श्रीकृष्णको विराट स्वरुप मूर्ति निर्माण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *