उपसभामुखलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने सत्तागठबन्धनको निर्णय

डिसी नेपाल
३ भदौ २०८२ १६:४८
340
Shares

काठमाडौं। सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन्।

सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्तागठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछिमात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन्। बैठकपछि नेताहरुले उपसभामुख राना देश बाहिर रहेकाले स्वदेश फर्किपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन्।

हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख भाद्र १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ। बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख रानाबिरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा छलफल नै नभएको बताए।

सत्तारुढ दलकाबीच संसदीय मामिलालाई प्रभावकारी बनाउने, महत्वपूर्ण विधेयकलाई अघि बढाउने र संसदमा देखिएको गतिरोधका विषयमा साझा धारणा बनाउने प्रयास गरिएको उनले बताए।

त्यस्तै उनले भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलबीच समान धारणा बनाएर सदनबाट पारित गर्न छलफल भएको जिकिर गरे। बर्तौलले उपसभामुखका विषयमा उठेका प्रश्नहरुलाई निष्कर्षमा पुर्‍याउनका लागि खुला ढंगले छलफल गर्ने बताए। उपयुक्त समयमा यसका विषयमा आवश्यक निर्णय लिने भन्दै उनले उपसभामुख देशबाहिर रहेका बेला उहाकाविरुद्ध टिप्पणी गर्नु उचित नहुने धारणा राखे।

यस्तै जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताए। सत्तागठबन्धको बैठकमा समयमा नै विधेयक पारित गर्न संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगाएतका विषयमा छलफल भएको उनले बताए। बैठकमा कांग्रेस एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगाएत दलका नेताहरु सहभागी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *