एमाले पछाडि परेको भए हामी कान समातेर उठबस गर्छौं : राजन भट्टराई

डिसी नेपाल
६ भदौ २०८२ १६:२९
120
Shares

रामेछाप। नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले नेकपा एमाले देशको विकास, समृद्धि र राष्ट्र हितको पक्षमा उभिने पार्टी भएको बताएका छन्।

नेकपा एमाले रामेछापको पाँचौँ पूर्ण बैठकलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै भट्टराईले विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी नेकपा एमाले नै भएको बताए।

भट्टराईले एमाले सरकारमा हुँदा र अरू सरकारमा हुँदा गरेको काम तुलना गरेर हेर्न चुनौती दिए। ‘हामी कुनै क्षेत्रमा पछाडि परेका रहेछौँ भने कान समातेर उठबस गर्न तयार छौँ’, उनले भने।
भट्टराईले पार्टीले गरेको राम्रो कामको चर्चा पार्टीका नेता कार्यकर्ताले गर्न नसकेका भन्दै असन्तुष्टि व्यक्त गरे। ‘विचार, नारा र कार्यक्रमले मात्र भनिरहेका छैनौँ, एमाले काम गर्ने पार्टी हो भनेर व्यवहारमा नै प्रमाणित गरेर देखाएका छौँ’, उनले भने।

नेपाललाई जानकारी नदिइ भारत र चीन बिच लिपुलेक नाका सञ्चालन गर्ने विषयमा भएको सहमति एमालेलाई स्वीकार्य नभएको उनले बताए। केपी ओली नेतृत्वको वर्तमान सरकारले सो विषयमा जानकारी आउने बित्तिकै आपत्ति जनाएको उनले स्मरण गराए।

पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता सुरु भएको बैठक २ दिनसम्म चल्ने पार्टी जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए।

बैठकमा वार्षिक आयव्यय विवरण, वार्षिक कार्ययोजना, जरा अभियानको रिपोर्ट, विधान संशोधन लगायतका विषयमा छलफल गरी निर्णय हुने पार्टी जिल्ला कमिटी अध्यक्ष कडरियाले जानकारी दिए।

त्यस्तै जिल्ला पार्टीमा विभागको पूर्णता, प्रदेश क्षेत्रीय समन्वय कमिटी पूर्णता, जिल्ला सल्लाकार परिषद् गठन, सचिवालय गठन लगायतका विषयमा पनि निर्णय हुने उनले बताए।

त्यस्तै पार्टीले मन्थलीमा निर्माण गरिरहेको मदन आश्रित स्मृति भवनका बारेमा पनि छलफल हुने कडरियाले जानकारी दिए। बैठकले पार्टीको पालिका कमिटीका निर्णयहरू पनि अनुमोदन गर्ने छ।

बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, जिल्ला भूगोले भएका प्रदेश कमिटीका नेताहरू लगायतका सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *