जेनजी आन्दोलनपछि सुरक्षा संकट, कीर्तिपुरमा स्थानीयको सामूहिक गस्ती

डिसी नेपाल
२६ भदौ २०८२ १६:५३
252
Shares

काठमाडौं । नेपालभर भदौ २३ गतेबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी एवम प्रशासनिक संरचनाहरुमा आगजनी भएपछि अवस्था अस्तव्यस्त छ। सरकार विरोधी आन्दोलनले मुलुकभर अस्थिरता ल्याएको छ। सर्वसाधारणहरुले असुरक्षित महशुस गर्न थालेका छन्।

राजधानी काठमाडौँसहित विभिन्न सहरमा भएको प्रदर्शन हिंसात्मक बनेपछि हालसम्म ३३ जनाको ज्यान गएको र सयौं घाइते छन्

सरकारी कार्यालयदेखि प्रहरी चौकीसम्ममा आगजनी र तोडफोड भएपछि देशमा सुरक्षाको रिक्तता बढ्दै गएको छ र प्रहरी, प्रशासन तथा नेतृत्वविहीन अवस्थाले स्थानीयलाई नै सजग हुन बाध्य बनाएको छ।

तर कीर्तिपुरका बासिन्दाले भने आफ्नै पहलमा सुरक्षा गर्ने काम थालेका छन्। राति गस्ती गर्ने, पालैपालो टोली बनाएर गाउँ टोलमा चहार्ने र कुनै घटना नहोस् भनेर सतर्कता बढाएका छन्।

वडानम्बर ३ का सिद्धिमान महर्जनले देशमा सुरक्षाको हिसाबले चुनौती बढेको कारण स्थानीयहरुले सुरक्षाको दस्तावेज बनाएर ९ बजेदेखि १२ बजेसम्म मिलेर गस्ती गर्ने गरेको बताए।

उनले भने, ‘देशमा अहिले शून्यताको अवस्था छ। हामी आफैंले राति ९ बजेदेखि १२ बजेसम्म पालैपालो गस्ती गर्छौं। हालसम्म हाम्रो क्षेत्रमा लुटपाटको कुनै घटना भएको छैन। आन्दोलनकर्ताले उठाएका माग जायज छन् तर आगजनी र संरचना तोडफोड भने अस्वीकार्य छ।’

यस्तै, उपेन्द्रराज श्रेष्ठले आन्दोलनको दोस्रो दिनको घटना घुसपैठ गरेर उग्र बनाइएको हुनसक्ने बताए।

‘हाम्रो नगरपालिकादेखि सांसदको घरसम्म जलाइयो, प्रहरी चौकी जलाइयो, डीएसपी कार्यालयबाट हतियारसमेत बोकेर लगिएको छ। यस्तो अवस्थामा प्रहरी आफैं सुरक्षा दिन नसक्ने भएपछि हामीले पालैपालो दिनरात गस्ती सुरु गरेका छौं,’उनले भने।

श्रेष्ठले आन्दोलनको मर्मलाई समर्थन गर्दै ‘पुरानो अनुहार र पुरानो सोच’ हटाउन आवश्यक भएको बताए तर सार्वजनिक सम्पत्ति जलाउनु भने गलत भएको उनको भनाइ छ।

उनले भने, ‘यो जुन आन्दोलन भयो त्यो गर्न आवश्यक नै थियो, सधैँ त्यही वृद्ध अनुहार मात्र कति हेर्नु। पूरानो अनुहार र सोचलाई परिवर्तन गर्नैपर्ने थियो, त्यसकारण जेनजीलाई धन्यवाद दिन चाहन्छु। तर यो आगो लगाउने काम जुन भयो त्यो मलाई ठिक लागेन। किनभने त्यो भनेको त आफ्नै सार्वजनिक सम्पत्ति हो।’

स्थानीय सरसफाई अभियानकर्ता कृष्णभक्त महर्जनले पनि आन्दोलनले ल्याएको रुपान्तरणलाई धन्यवाद दिए। तर आन्दोलनकै बहानामा चोरी, लुटपाट हुने सम्भावना भएकाले उनीहरू सतर्क भएर रातिदेखि नै गस्तीमा खटिएको बताए। उनका अनुसार, हालसम्म प्रत्यक्ष लुटपाट नभएपनि सिसिटिभी फुटेजमा केही संदेहास्पद गतिविधि देखिएको छ।

उनले भने, ‘जेनजीहरुले गरेको कामको लागि म धन्यवाद दिन चाहन्छु। यो देशको लागि एउटा रुपान्तरण आवश्यक थियो र अहिलेको युवाहरुले त्यो रुपान्तरण गरेर देखाएका छन्। सुरक्षाको लागि आन्दोलन भएको दिनदेखि नै सुरक्षाको लागि भनेर आफै खटिएका छौ। कोही केही गर्न आईहाल्यो भने हामी सतर्क हुनुपर्छ भनेर उठेका छौं। किनभने यो समयको फाइदा उठाएर चोरी गर्ने काम हुन सक्छ। त्यसकारण यस्तो बेला सजक हुनुपर्छ भनेर नगरपालिकाभित्र पनि कुराहरु उठाइ रहेका छौ।’

त्यसैगरी, स्थानीय महिला लिला मान्धरले आन्दोलनमा निर्दोष युवाको ज्यान गएको घटनामा दुःख व्यक्त गरिन्। ‘शान्तिपूर्वक आन्दोलन गर्नुपथ्र्यो। तर सरकारी भवन जलाउनु भने हाम्रै सम्पत्ति जलाउनु हो। अब सबैले शान्ति र सुरक्षामा बस्नुपर्छ।’ उनले भनिन्। मान्धरका अनुसार, अहिले स्थानीय वासीहरूले आफैं सरसफाइदेखि गस्तीसमेत मिलेर गरिरहेका छन्।

युवाहरु रोजगारीअवसर नपाएर आन्दोलनमा उत्रिएको भएपनि आन्दोलन हिंसात्मक बनेकामा कीर्तिपुरवासी माधव विश्वकर्माले असन्तुष्टि जनाए।

सरकारी भवनभित्र भएका कागजपत्रहरू नै भ्रष्टाचार प्रमाणित गर्ने साधन थिए, ती जलाउन हुन्न थियो। अहिले त त्यही प्रमाण नष्ट भयो। यसले भ्रष्टाचारीलाई सजिलो बनाइदियो,’ उनले भने।

सुरक्षा निकाय कमजोर हुँदा लुटपाटको डर बढेको उनले बताए।

काठमाडौँ उपत्यकाको एउटा पुरानो शहर कीर्तिपुर अहिले स्थानीय सुरक्षा पहलको नमुना बनेको छ। प्रहरी, प्रशासन र सेनाले अझै नियन्त्रण नपाएको अवस्थामा त्यहाँका बासिन्दाले आफैं दस्ताबेज तयार गरी टोली बनाएर पालैपालो गस्ती गर्न थालेका छन्। यसले देखाएको छ, संकट र अस्थिरताको घडीमा पनि समुदाय आफैं उठेर शान्ति, सुरक्षामा भूमिका खेल्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *