प्रहरी प्रभाग पुनःस्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाई

डिसी नेपाल
२७ भदौ २०८२ १४:४५
56
Shares

काठमाडौं। जेनजी आन्दोलनको नाममा भएको विनाशलाई सर्वसाधारण सबैजना मिलेर सुधार गर्ने प्रयासमा लागेका छन् ।

प्रदर्शनको दोस्रो दिनबाट जेनजीहरु आफैंले पनि सरसफाइको अभियान सुरु गरेका छन्। यसै क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई पनि त्यहाँका स्थानीय प्रहरी र महानगर सबै मिलेर सफा गर्न लागेका छन्।

सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्य प्रसाद पौडेलले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए।

उनले भने, ‘आन्दोलनका क्रममा भएको आगलागी र त्यसको सरसफाइको लागि स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा सयुक्त टोली भएर सरसफाई गरिरहेका छौ। ट्राफिकहरु सवारी आवतजावत व्यवस्थापनको लागि एकदमै जरुरी छ। स्थानीयहरुले अग्रता देखाउनु भएको छ र उहाँहरुकै अग्रतामा हामी काम गरिरहेका छौ। यसले सकारात्मक नै सन्देश जान्छ भन्ने लाग्छ।’

यस्तै, स्थानीय सुनिल केसीले आन्दोलनमा नहुनुपर्ने कामहरु पनि भएको भन्दै अब यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए।

उनका अनुसार प्रहरी कार्यालयलाई सूचारु गरेर जनतालाई सेवा सुविधा दिनको लागि सफाइ गर्नुपर्ने भन्दै स्थानीय, प्रहरी, काठमाडौं महानगरपालिका सबै मिलेर सफाईको अभियान सुरु गरेको बताए।

उनले भने, ‘आन्दोलनमा नहुनुपर्ने कुराहरु भयो। तर त्यसले गरेको विनाशलाई भने सफाई गर्नुपर्छ भनेर आजको कार्यक्रम गरेका छौ। यहाँ स्थानीय, प्रहरी, काठमाडौं महानगरपालिका सबै मिलेर सफाइको अभियानमा जुटेका हौं। प्रहरी कार्यालयलाई सूचारु गरेर जनतालाई सेवा सुविधा कसरी दिन सकिन्छ भन्ने उद्देश्यका साथ सबै लागेका हौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *