संविधान हातमा लिएर सडकमा उभिए पेसाकर्मी
गण्डकी। मुलुकमा विद्यमान राजनीतिक संकटको निकास संविधानभित्रैबाट खोज्नुपर्ने माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले गण्डकीका विभिन्न जिल्लामा मौन प्रदर्शन गरेको छ। नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघलगायत पेसागत संगठनहरूको सहभागितामा बागलुङ, पर्वतलगायत जिल्लामा आज मौन प्रदर्शन गरिएका हो।
उक्त मौन प्रदर्शनमा सहभागी पेसाकर्मीले हातमा संविधानको पुस्तक र ‘देश बचाऔँ, संविधान जोगाऔँ’ लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए। नेपाल पत्रकार महासंघ केन्द्रको निर्णयअनुसार राष्ट्र र संविधानको रक्षाका लागि मौन प्रदर्शन गरिएको नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले बताए।
उक्त प्रदर्शनमा अधिकांश कानुन व्यवसायी र पत्रकारको उपस्थिति थियो। मुुलुकको पछिल्लो विकसित घटनाक्रमका सन्दर्भमा संवैधानिक प्रक्रियाबाट निकास निकाल्न माग गर्दै प्रदर्शन गरिएको उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष गीता श्रीसले बताइन्। ‘पापड’ केन्द्रको निर्णयअनुसार जिल्लामा थप कार्यक्रम तय हुने उनको भनाइ छ।
यही भदौ २३ र २४ गते जेनजीको प्रदर्शनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा अन्तरिम सरकार गठन प्रक्रिया संविधानभित्रबाट अगाडि बढाउनुपर्ने ‘पापड’को माग छ।







डिसी नेपाल







Facebook Comment