मन्त्री आवासको प्रारम्भिक क्षति विवरण संकलन सुरु

क्षति विवरण नआएसम्म सरसफाइकाे काम अघि नबढाइने

डिसी नेपाल
३१ भदौ २०८२ ११:५१
20
Shares

ललितपुर। ललितपुर महानगरपालिका-१८ भैंसेपाटीस्थित संघीय मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवासमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रारम्भिक क्षति विवरण संकलन सुरु भएको छ।

संघीय सचिवालयका अनुसार भदौ २४ गतेको घटनामा क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ। सचिवालयका सुपरिटेन्डिङ इञ्जिनियर चक्रवती कण्टका अनुसार प्रारम्भिक विवरण संकलन अघि बढाइएको हो।

भैंसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण गरिएका संघीय मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि बनेका २७ वटा अत्याधुनिक सुविधासम्पन्न भवन पूर्ण रूपमा जलेका छन्। गत असारमा मात्र मन्त्रीहरू सो आवासमा सरेका थिए।

त्यसैगरी, २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ।
हाल भैंसेपाटीस्थित ती संघीय मन्त्री आवास र प्रदेश सम्पर्क कार्यालयमा नेपाली सेनाले सुरक्षा दिएको छ।

आवास क्षेत्रमा बस्ने परिवारका सदस्यलाई मात्र परिचयपत्र देखाएर भित्र प्रवेश दिइएको छ। संघीय सचिवालयले क्षति विवरण नआएसम्म सरसफाइलगायतका कार्य अघि नबढाइने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *