मन्त्री घिसिङसँग बेलायती राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
७ असोज २०८२ १७:२०
40
Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन्।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनाका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रुपमा क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताएका थिए। त्यसैगरी उनले नेपालको आर्थिक विकासमा बेलायतले गरेको सहयोगको सराहना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउन ‘चार्जिङ स्टेसन’ स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताएका थिए।

सो अवसरमा राजदूत फेनले बेलायत नेपालको पुरानो मित्र भएको र नेपालको सफलता तथा आर्थिक रुपान्तरणमा निरन्तर सहयोग रहने उल्लेख गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *