विद्या भण्डारीलाई पार्टीमा ल्याउन दबाब बढेपछि ओली ‘वान टु वान वार्ता’ गर्न तयार!

डिसी नेपाल
१७ कार्तिक २०८२ १०:४३
212
Shares

काठमाडौं। पार्टीभित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न दबाव बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपाध्यक्षसमेत रहेकी विद्या भण्डारीसँग यो विषयमा भेटेर कुरा गर्ने तयारी गरेका छन्।

सचिवालय बैठकमा अधिकांश नेताहरुले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने मत राखेपछि ओलीले यो विषयमा आफैं कुरा गर्ने बताएको एक नेताले जानकारी दिए।

‘पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणको विषयमा पहिला झैं यो पटक पनि सचिवालय बैठकमा कुरा उठ्यो,’ एक सचिवालय सदस्यले डिसी नेपालसँग भने, ‘उहाँ (ओली) नवीकरण गर्ने पक्षमा देखिनु भएन। दबाव बढ्न थालेपछि आफैं कुरा गर्छु भन्नु भएको छ।’

यद्यपी यो विषयमा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई कुनै जानकारी दिएका छैनन्। भण्डारी निकट स्रोतका अनुसार अहिलेसम्म ओलीकातर्फबाट भेट्ने विषयमा कुनै जानकारी आएको छैन।

जेन-जी आन्दोलनपछि सरकारबाट बाहिरिएका ओलीमाथि भण्डारीको सदस्यता नवीकरण गर्न चौतर्फी दबाव बढेको छ। तर, ओली त्यसका लागि तयार छैनन्। ओली भण्डारीको सदस्यता नवीकरण गर्न तयार हुने अवस्थामा पनि भण्डारीलाई एघारौं महाधिवेशनमा अध्यक्षको उम्मेदवार नहुने गरी सदस्यता नवीकरण हुन सक्ने बताइएको छ।

एमालेले ११ औं महाधिवेशन मंसिर २७-२९ मा काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ। ओली सो महाधिवेशनबाट आफैं अध्यक्षमा दोहोरिने दाउमा छन्। अहिलेसम्म ओली विरुद्ध प्रतिश्पर्धा गर्ने भनेर कसैले मुख नखोलेपनि ११ औं महाधिवेशनमा अध्यक्ष पदमा प्रतिश्पर्धा हुने नेताहरु बताउँछन्।

एमाले भित्र एक समूह भण्डारीको सदस्यता नवीकरण गरेर उनलाई पार्टी अध्यक्ष बनाउनु पर्नेमा छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अन्य पदाधिकारीहरुसमेत भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा छन्।

ओलीमाथि सदस्यता नवीकरण गर्न दबाव बढेपछि उनले यो विषयमा भण्डारीसँग भेटेर कुरा गर्ने बताएका थिए। तर ओलीले साँच्चै भण्डारीसँग भेट्न चाहेको हो वा यो विषयलाई मथ्थर पार्न उक्त अभिव्यक्ति दिएको भन्ने विषय भने आगामी दिनले नै बताउला।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *