दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भ : राष्ट्रपति

डिसी नेपाल
१८ कार्तिक २०८२ २३:१२
32
Shares

कतार (दोहौ)। राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

कतारको दोहामा आजबाट शुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्तर्गत यहाँ आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

‘गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी र सामाजिक समावेशीकरण अमूर्त आदर्श मात्रै होइनन्, शान्ति सुव्यवस्था, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ पनि हुन्’, उनले भने।

गत तीन दशकमा उल्लेखनीय प्रगति हासिल भए तापनि सामाजिक विकासका क्षेत्रमा धेरै समस्या र चुनौतीहरू विद्यमान रहेको उनको भनाई थियो। राष्ट्रपति पौडेलले ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेको, धेरै देशमा बेरोजगारी दर अझै उच्च रहेको, लाखौं मानिस मर्यादित कामको खोजीमा आफ्नो देश छोडिरहेका तथा पूर्ण, समान एवम् अर्थपूर्ण समावेशीकरण र सहभागिता अझै प्राप्त हुन बाँकी छ भने।

उनले गरिबी निवारणलाई नेपालले उच्च प्राथमिकता दिएको बताए। फलस्वरुप, उद्यमशीलता विकाससहित स्वदेशमै रोजगारीका अवसरहरू सिर्जनाका गर्न प्रयास भईरहेको तथा सीप विकासमा लगानी गरी डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गरिरहेको उनले उल्लेख गरे।

‘सामाजिक न्याय र समावेशीकरण हाम्रो संविधानको प्रमुख विशेषता हो, अनौपचारिक र स्वरोजगार कामदारहरूलाई समेत समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिरहेका छौं’, राष्ट्रपति पौडेलले भने।

उनले यी नीतिका प्रष्ट परिणामहरू देखिइसकेको बताउँदै सार्वजनिक सेवा, शिक्षालगायत सबै क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समूहहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको बताए।

‘यति हुँदाहुँदै पनि जीवनस्तर उल्लेखनीय रूपमा उकास्न, स्वदेशमै आकर्षक रोजगारी सिर्जना गर्न र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न थप कार्य गर्न आवश्यक छ’, राष्ट्रपति पौडेलले भने।

उनले सुदृढ लोकतान्त्रिक र समावेशी नीतिहरू, जवाफदेही संस्थाहरू र पारदर्शी सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्नुपर्नेमा जोड दिए। ‘हरित, डिजिटल र ज्ञानमा आधारित अर्थतन्त्रजस्ता उदियमान क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने।

साथै, उनले एजेन्डा २०३० को तीव्रतर कार्यान्वयन गर्न र अति कम विकसित तथा जोखिममा रहेका मुलुकहरूलाई आवश्यक सहयोग गर्न विश्वव्यापी ऐक्यबद्धता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्छ भने। ‘यसका लागि नेपाल विश्व समुदायसँग हातेमालो गर्न तयार छ’, राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा दोहामा यही कात्तिक १८ देखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आएका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूतावासका उच्चपदस्थ पदाधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *