पर्यटन फोटो पत्रकारिता तालिम सुरु

डिसी नेपाल
२५ कार्तिक २०८२ १५:१५
12
Shares

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटिपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) सँगको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम सुरु गरिएको हो।

कोशी प्रदेशका १४ जिल्लाबाट प्रतिनिधित्व हुनेगरी हरेक जिल्लाबाट दुई जनाको दरले पर्यटन र फोटो पत्रकारितामा संलग्नहरुलाई फोटोमार्फत नेपालको सौन्दर्य, संस्कृति, र मानवीय पक्षलाई अभिव्यक्त गर्न सिकाउने उद्देश्यले आजदेखि तालिम सुरु भएको हो। तालिमको उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशीला बरालले यस किसिमका प्रशिक्षणहरु विभिन्न चरणमा सातै प्रदेशमा दिइरहेको र सहभागीको क्षमता विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्न विश्वास व्यक्त गरे।

त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले नेपाललाई अब लेन्सबाट संसारलाई देखाउन सकिएन भने पछि पर्ने उल्लेख गर्दै अब पर्यटन र फोटो पत्रकारितालाई सँगसँगै लैजान काम गरिरहेको बताए।

तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीपप्रकाश कार्कीले पर्यटन बोर्डको स्थापनाको उद्देश्य, पर्यटन पत्रकारिताको महत्व र यसका प्रक्रियाबारे जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *