निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग राजनीतिक दलको आग्रह

डिसी नेपाल
३ मंसिर २०८२ २१:२८
16
Shares

काठमाडौं । राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा बोलाएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले निर्वाचनका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार भए पनि विश्वाससिलो वातावरण बन्न नसकेको बताए। उनले सरकारको गतिविधिबाट आफूहरू विश्वस्त हुन नसकेको बताउँदै निर्वाचनका लागि आवश्यक आधारभूत तयारी नभएको टिप्पणी गरे।

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन नसकेको बताए। उनले अन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा निर्वाचनका लागि शान्तिसुरक्षाको जोखिम हुने आशङ्का व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा निर्वाचन केन्द्रित गतिविधिमा पूर्ण रूपमा होमिएको जानकारी दिँदै निर्वाचनका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न सरकारसँग माग गरे। उनका अनुसार सरकारको पहिलो दायित्व निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको हुँदा सबै राजनीतिक दलले त्यसमा सहयोग गर्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *