कविता : आवाजहरु

राकेश कार्की
२८ मंसिर २०८२ ११:५७

मेरो देशमा
कुनै समय कुनै बेला
शीतल तात्दा तात्दा
विष्फोट भएको ज्वालामुखी जस्तो
शान्त खल्बलिँदा खल्बलिँदा
सुनामी आएको समुद्र जस्तो
बोलेका, चिच्याइएका, कराएका आवाजहरु
अहँ सुनिँदैनन्

न त एक्लो आवाज सुनिन्छ
नत सामुहिक आवाज सुनिन्छ
अहिले छ त आवाजको हाल
आँसुका आवाजहरू
उत्पीडनका आवाजहरु
सन्तापका आवाजहरु

अनि यस्तै यस्तै
दु:खका आवाजहरु
अभावका आवाजहरु
वेरोजगारीका आवाजहरु
उपचार नपाएका आवाजहरु
सबैतिर दबिरहेका
बेवास्ता गरेका
सुन्न न खोजिएका
कमजोर अर्थतन्त्रको डण्डाले
पिटिएका आवाजहरु

मेरो देशमा
अबको आउने समय र बेलालाई
जरूरत छ अति आवश्यक छ त
घर घर परिवारका आवाजहरु
गाउँ शहरका आवाजहरु
यता उता सबै जहाँतहाँ नै
खुशीका आवाजहरु
सुखका आवाजहरु
जहिले त्यहिले सुनिइरहने
सफलताका आवाजहरु
मुस्कानका आवाजहरु

लस एन्जेलस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.