तीन दिन विद्यालय बन्द
काठमाडौं। अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन्। खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता भएको भन्दै पुस ९ र ११ गते विद्यालय बन्द गरिएको जनाएको छ।
पुस १० गते क्रिसमसको बिदा रहेको छ। पालिकाले शिक्षा समितिको निर्णयअनुसार पुस ९ र ११ गते पठनपाठन स्थगित गरी प्रशासनिक कार्य भने नियमित सञ्चालन गर्न अनुरोध गरेको छ।
खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले अत्यधिक चिसो र शीत लहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।
शिक्षा शाखा प्रमुख मल्लले भने, ‘आम अभिभावकको आग्रहका आधारमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।‘ अत्यधिक जाडो र शीतलहरूका कारण विद्यालय सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ।
बाँकेमा मङ्सिर अन्तिम सातादेखि बिहानै बाक्लो हुस्सु र शीतलहर चलेपछि जन जीवन प्रभावित हुँदै आएको छ। हवाई उडान प्रभावित तथा अनियमित हुने गरेको छ। अत्यधिक चिसोबाट बच्न मानिसहरू आगो तापेर बसिरहेका छन्।
नेपालगन्ज उपमहानगरपालिकासहित जिल्लाको अन्य स्थानीय तहमा समेत अत्यधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न अभिभावकले माग गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment