चन्द्रागिरी केबलकारमा स्थानीयलाई ५० प्रतिशत छुट

डिसी नेपाल
२ माघ २०८२ २१:२८
52
Shares

कीर्तिपुर (काठमाडौं)। चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन्।

केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी चन्द्रागिरि नगरपालिका तथा मकवानपुर जिल्लाका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयवासीले समेत यस्तो छुट उपलब्ध गराउने निर्णय गरेको थियो। माघ १ गते सार्वजनिक बिदा परेका कारण छुटको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो।

हाल चन्द्रागिरि केबलकार चढ्नका लागि साधारण टिकटका लागि ८२५ रूपैयाँ तिर्नुपर्छ। यसअघि कम्पनीले चन्द्रागिरिस्थित केबलकारको बेसस्टेसन वरपरका एकदेखि पाँच वडाका बासिन्दालाई २५ प्रतिशत छुट दिइरहेको थियो। “एक वर्षअघि नगर कार्यपालिकाले सबै नगरवासीले अपनत्व लिनेगरी सम्पूर्ण नगरवासीलाई छुट दिलाउने पहल गर्ने निर्णय गरेपछि यस्तो छुटका लागि प्रयास सुरु भएको थियो”, नगरका प्रवक्ता एवं ३ नम्बर वडाका अध्यक्ष कृष्ण खड्गीले बताए।

छुट प्राप्तिका लागि लाभग्राहीले आफू चन्द्रागिरि, थाहा वा इन्द्रसरोवरको स्थानीय भएको खुल्ने कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने र टिकट खरिदका क्रममा स्वयं उपस्थित हुनुपर्ने र सार्वजनिक बिदाका दिनहरूमा यस्तो छुट नपाइने व्यवस्था गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *