सलहेश फूलबारीमा बिहानैदेखि भीड, नयाँ वर्षमा ढकमक्क फुल्यो ‘चमत्कारी’ सुनाखरी
रौतहट। सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ।
वर्षको एक दिन वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको दुर्लभ ‘सुनाखरी’ फूलको दर्शन र पूजाअर्चना गर्न बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ।
लहान नगरपालिका वडा नम्बर १२ र २२ मा झण्डै नौ बिघा क्षेत्रफलमा फैलिएको यस फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी फूल ढकमक्क फक्रिएको छ।
१४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट समेत हजारौँको सङ्ख्यामा पर्यटकहरु आएका छन्।
भक्तजनहरूले सलहेश र मालिनीको अगाध प्रेमको गाथालाई स्मरण गर्दै पूजापाठ गर्ने गर्दछन्। किम्वदन्ती अनुसार हरेक वर्ष वैशाख १ गतेका दिन राजा सलहेशको प्रतीक्षामा मालिनी फूलका रूपमा प्रकट हुने विश्वास गरिन्छ।
यो अलौकिक दृश्यको अवलोकन गर्न आउने पर्यटक र दर्शनार्थीका कारण फूलबारी क्षेत्र यतिबेला उत्सवमय बनेको छ।
स्थानीय प्रशासन र मेला व्यवस्थापन समितिले बढ्दो भीडलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको विशेष व्यवस्था मिलाएको छ। नयाँ वर्षको पहिलो दिन यो अनौठो प्राकृतिक र सांस्कृतिक सम्पदाको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ।







डिसी नेपाल







Facebook Comment