प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी
वीरगञ्ज। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ। आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई नौ विकेटले हराएको हो।
कर्णालीले २५ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७२ रन जोडेको थियो। कर्णालीका प्रकाश जोशीले ३६ बलमा १५ रन जोडेका थिए। त्यस्तै, कर्णालीका दिवन पुनले २७ बलमा १४ रन जोडे। गण्डकी प्रदेशका विपिन खत्रीले पाँच विकेट र अपराजित पौडेलले तीन विकेट लिएका थिए।
जबाफी ब्याटिङमा उत्रिएको गण्डकीले १३ ओभरमा एक विकेट गुमाउँदै ७४ रन जोडेको थियो। गण्डकीका तर्फबाट सिब्रिन श्रेष्ठले ३४ बलमा ४० रन र दीपक डुम्रेले १८ बलमा २२ रन जोडेका थिए। कर्णाली प्रदेशका विपिन शर्माले एक विकेट लिएका थिए।
आजको खेलमा गण्डकी प्रदेशका विपिन खत्री ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन्। प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ।
प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल यही वैशाख ४ गते हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment