देशको आर्थिक सुधारका लागि सबैभन्दा छिटो परिणाम दिने क्षेत्र घरजग्गा व्यवसाय होः रिजाल
काठमाडौं । बासबारी हाउजिङ प्रालिका सञ्चालक आमिर जंग रिजालले घरजग्गा व्यवसायलाई संरक्षण र व्यवस्थित नगरी नेपालको अर्थतन्त्रले तीव्र गति लिन नसक्ने बताएका छन् ।
उनका अनुसार देशको आर्थिक सुधारका लागि सबैभन्दा छिटो परिणाम दिने क्षेत्रमध्ये घरजग्गा तथा भूमि विकास क्षेत्र प्रमुख विकल्पका रूपमा रहेको छ।
रिजालले नेपालजस्तो भौगोलिक तथा आर्थिक संरचना भएको सानो राष्ट्रमा ‘स्मार्ट सिटी’ जस्ता अवधारणालाई व्यावहारिकभन्दा पनि प्रचारमुखी बनाइएको टिप्पणी गर्दै यसकै नाममा विगतमा व्यापक लुटतन्त्र, अनियमितता र आर्थिक घोटाला भएको दाबी गरेका छन्। उनले यस्ता विषयमा सरकारले गम्भीर समीक्षा र निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले जनताको निजी सम्पत्तिमाथिको अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गर्दै जग्गा कित्ताकाट प्रक्रियालाई पूर्ण रूपमा खुला गरिनुपर्ने बताएका छन्। उनका अनुसार मुलुकका धेरै नागरिकले आफ्नो सानो आकारको जग्गा बेचेर छोराछोरीको विवाह, घर निर्माण, शिक्षा तथा दैनिक जीवनका आवश्यकताहरू पूरा गर्ने गरेका छन्। यस्तो अवस्थामा जनतालाई आफ्नै सम्पत्तिमाथि आवश्यक निर्णय गर्न रोक लगाउनु न्यायोचित नहुने उनको भनाइ छ।
रिजालले घरजग्गा व्यवसायलाई व्यवस्थित नीति, स्पष्ट कानुनी संरचना र करको दायराभित्र राखेर सञ्चालन गर्न दिए राज्यलाई ठूलो आर्थिक लाभ पुग्ने बताएका छन्। उनले विशेषगरी निजी क्षेत्रबाट गरिने व्यवस्थित प्लटिङ तथा भूमि विकासमार्फत सडक, ढल, खानेपानी, बिजुली, पिच लगायतका पूर्वाधार निजी कम्पनीहरूले आफ्नै लगानीमा निर्माण गर्ने भएकाले सरकारको ठूलो बजेट बचत हुने र राज्यको राजस्व आम्दानी समेत उल्लेखनीय रूपमा वृद्धि हुने धारणा व्यक्त गरेका छन्।
उनले सरकारलाई निजी क्षेत्रलाई प्रोत्साहन गर्दै घरजग्गा तथा भूमि विकास व्यवसायलाई सहज, पारदर्शी र व्यवस्थित वातावरणमा सञ्चालन गर्न दिनुपर्नेमा जोड दिएका छन्। यसबाट रोजगारी सिर्जना, लगानी विस्तार, राजस्व वृद्धि र समग्र अर्थतन्त्र चलायमान बन्ने उनको विश्वास रहेको छ।







डिसी नेपाल







Facebook Comment