एनपीएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा, कुन टिममा को–को भित्रिँदै छन् ?
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै टोलीहरू अहिले आन्तरिक तयारीमा व्यस्त छन्। घरेलु खेलाडीको टुङ्गो लगाइसकेका उनीहरू हाल विदेशी खेलाडी भित्र्याउने तयारी गरिरहेका हुन्।
केही फ्रेन्चाइज टोलीले विदेशी कोटाबाट भित्र्याउन पाउने खेलाडीको नाम सार्वजनिक गरेका छन्। टिमहरूले अहिलेसम्म पुरानै खेलाडीलाई अनुबन्ध गरेका छन्।
अहिलेसम्म कुन टोलीमा को विदेशी खेलाडी ?
सुदूरपश्चिम रोयल्स
पछिल्लो दुई सिजनको उपविजेता सुदूरपश्चिम रोयल्सले इंग्ल्यान्डका सेफ अली जैब र न्यूजील्यान्डका स्कट कुगेलेइनलाई अनुबन्ध गरिसकेको छ। यी दुई खेलाडीले लगातार तेस्रोपटक एनपीएल खेल्न लागेका हुन्। कुगेलेइनले पहिलो र दोस्रो सिजन सुदूरपश्चिमका लागि खेलेका थिए।
सेफ पहिलो संस्करण सुदूरपश्चिम र गत सिजन चितवन राइनोजको जर्सीमा मैदान उत्रिएका थिए। उनीहरू दुवैले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। सेफ पहिलो सिजनमा लिगकै सर्वोकृष्ट खेलाडी घोषित भएका थिए। यस्तै, कुगेलेइनका लागि पनि अहिलेसम्मको एनपीएल करियर उत्कृष्ट छ। उनी एनपीएलमा हालसम्म सर्वाधिक विकेट लिने बलरको सूचीको शीर्ष स्थानमा छन्।
स्कटले १७ खेल खेल्दा ६.४७ को इकोनमी रेटमा सर्वाधिक २७ विकेट लिएका छन्। यस्तै, सेफ अलीले हालसम्म एनपीएलमा १६ खेल खेल्दा १३६.२९ को स्ट्राइक रेटमा ३ सय ९१ रन बनाएका छन्।
सुदूरपश्चिम रोयल्सले फेरि स्कट र सेफलाई अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएको छ। टोलीका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले उनीहरूलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।
जनकपुर बोल्ट्स
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले अहिलेसम्म एकजना विदेशी खेलाडीलाई मात्र अनुबन्ध गरेको छ। उसले भारतीयमूलका अमेरिकन अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरेको हो।
उनले पनि लगातार तेस्रोपटक एनपीएल खेल्न लागेका हुन्। हरिमतले पहिलो र दोस्रो सिजनको एनपीएल सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। जहाँ उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
हरमितले हालसम्म एनपीएलमा १४ खेलमा २० विकेट लिनुका साथै १६१ रन बनाएका छन्। उनी यसपटक जनकपुरका लागि पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छन्। जनकपुरले हरमितलाई कप्तानको रूपमा टिममा अनुबन्ध गरेको हो।
जनकपुरका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले नयाँ ऊर्जा, सोच र संकल्पसहित अघि बढ्ने लक्ष्यका साथ विदेशी खेलाडीलाई कप्तानी दिइएको बताए।
‘हरेक सफल टोलीको आधार उत्कृष्ट खेलाडी मात्र होइन, सशक्त नेतृत्व पनि हो। नयाँ सिजनसँगै जनकपुर बोल्ट्स नयाँ ऊर्जा, नयाँ सोच र नयाँ संकल्पका साथ अगाडि बढ्ने तयारी गरिरहेको छ। यही यात्राको नेतृत्व गर्ने जिम्मेवारी हामीले हर्मितलाई सुम्पिएका छौँ’, खतिवडाले भने।
लुम्बिनी लायन्स
गत संस्करणको एनपीएल विजेता लुम्बिनी लायन्सले पनि अहिलेसम्म एक जना विदेशी खेलाडी अनुबन्ध गरेको छ। उसले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो।
उनले एनपीएल २०२५ पनि लुम्बिनीबाटै खेलेका थिए। टोलीलाई उपाधि जिताउन डिकवेलाको भूमिका अहम् रहेको थियो। उनी टोलीमा जोडिएपछि लुम्बिनीले लगातार ६ खेलमा जित निकालेको थियो
हालसम्म डिकवेलाले लुम्बिनीका लागि ६ खेलमा १३७ रन बनाएका छन्। लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले डिकवेलाबाट यसपटक पनि उत्कृष्ट प्रदर्शन आशा राखेको प्रतिक्रिया दिए।
‘गत सिजनमा उनले टोलीलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। डिकवेला च्याम्पियन खेलाडी हुन्, किनभने उनले लुम्बिनी लायन्सबाट खेल्दा कुनै खेल हारेका छैनन्। आगामी सिजन पनि उनले यही भूमिका निभाउने अपेक्षा लायन्सको रहेको छ’, जिसीले भने। लुम्बिनीले बाँकी विदेशी खेलाडी पनि छिट्टै अनुबन्ध गर्ने जनाएको छ।
चितवन राइनोज
पहिलो उपाधिको खोजीमा रहेको चितवन राइनोजले आसन्न संस्करणको एनपीएलका लागि विदेशी कोटाबाट अहिलेसम्म एक जना खेलाडी भित्र्याएको छ। उसले इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपारालाई अनुबन्ध गरेको हो। उनले लगातार तेस्रोपटक चितवनबाट एनपीएल खेल्न लागेका हुन्।
रविले हालसम्म एनपीएलमा १५ खेलमा ५२३ रन बनाएका छन्। उनी एनपीएलमा सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन्। चितवनले यसपटक प्रशिक्षकमा विदेशी पूर्वक्रिकेटरलाई नियुक्त गरेको छ। उसले पाकिस्तानका पूर्वतीव्र गतिका बलर सोहेल तनवीरलाई नियुक्त गरेको हो। उनी पछिल्लो दुई संस्करणको एनपीएलमा खेलाडीको रूपमा चितवन राइनोजमा जोडिएका थिए।
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एनपीएलका लागि विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको छ। उसले श्रीलङ्काका पूर्वस्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। मेन्डिसको अन्तरराष्ट्रिय अनुभव, प्राविधिक ज्ञान र नेतृत्व क्षमताले टोलीलाई नयाँ उचाईमा पुर्याउने टोलीको विश्वास छ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले भने, ‘मेन्डिस जोडिएपछि टिमको प्रदर्शन सुधार हुनुका साथै युवा खेलाडीको विकासमा पनि टेवा पुग्ने विश्वास छ।’,
पोखराले अहिलेसम्म विदेशी खेलाडीको रूपमा श्रीलङ्काकै अलराउन्डर धनञ्जय लक्षणलाई अनुबन्ध गरेको छ। उनी दोस्रोपटक पोखराका लागि एनपीएल खेल्न लागेका हुन्। लक्षणले गत संस्करणमा तीन खेलमा १० विकेट लिनुका साथै ५३ रन बनाएका थिए। सोही कारण पोखराले फेरि उनलाई अनुबन्ध गरेको हो।
काठमाडौं गोर्खाज, विराटनगर किंग्स र कर्णाली याक्सले भने अहिलेसम्म तेस्रो सिजनको एनपीएलका लागि एक जना पनि विदेशी खेलाडीको नाम सार्वजनिक गरेका छैनन्। खेलाडीसँग सम्झौताको विषयमा छलफल जारी रहेकाले केही दिनमा नाम सार्वजनिक गर्ने उनीहरूको तयारी छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) अनुसार तेस्रो संस्करणको एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। लिगको खेल तालिका सार्वजनिक हुन बाँकी छ। यसपालि पनि एनपीएलमा आठवटा टोलीको सहभागिता रहने छ। रासस
No ads found for this position


Facebook Comment