बालेनले नचिनेको राष्ट्रिय पोसाक

सुरेश भट्ट आश्रिन
७ वैशाख २०८३ १४:३२

व्यवस्थापिका संसदको पहिलो बैठकका दिन प्रधानमन्त्री बालेन्द्र साह कालो टि-सर्ट, कालो कोट, कालो चस्मा, कालो जिन्सको पाइन्ट, कानमा टप र कालै जुत्तामा गरिमामय सदनमा देखिए। अन्य प्रायः सबै माननीय राष्ट्रिय पोसाकमा त कोही पहिचान सहितका पोसाकमा सजिएका थिए।

२०६८ साल फाल्गुण ११ गते प्रधानमन्त्री नियुक्त भएपछि डा. बाबुराम भट्टराईले नेपालको राष्ट्रिय पोशाक हटाए। यो हाम्रो दुर्भाग्य थियो या थिएन कालान्तरमा आत्मबोध हुनेछ। यद्यपि डा.भट्टराईको निर्णयलाई उल्ट्याउदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले २०७५ साल भाद्र १ गतेदेखि नेपालको राष्ट्रिय पोशाकलाई औपचारिक कार्यक्रमहरुमा यथावत् राख्ने जुन निर्णय गर्‍यो त्यो स्वागतयोग्य नै मान्नुपर्छ। फलस्वरूप प्रधानमन्त्रीका रूपमा ओली र देउवाले यदाकदा बाहेक कहिल्यै राष्ट्रिय पोसाक विना सदनमा उपस्थित भएनन्।

“मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोसाक संरक्षण महाअभियान” जस्ता स्लाेगनसहित राष्ट्रिय पोसाक संरक्षण महाअभियानले त नेपालको राष्ट्रिय पोसाक संरक्षण र प्रवद्र्धन गर्ने भन्दै २०७० साल यता पुस १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाउँदै आएको छ।

विक्रम संवत् १ हजार वर्षपूर्वका ग्रन्थमाला र अमरकोषमा पनि हाम्रा पोसाकको बारे वर्णन गरिएको पाइन्छ। हाम्रा भेषहरुको विकास भई आएको पाइन्छ। लोग्नेमान्छेले लगाउने भोटो, दौरा, सुरुवाल, टोपी र स्वस्नीमान्छेले लगाउने ठूलो सारी, चौबन्दी चोलो हो।

नेपाली भेषहरु सांस्कृतिक आधारमा बनेकाले हरेक नेपालीले हाम्रो पहिचानलाई स्वदेश–विदेशमा प्रयोग गर्नुमा गौरव ठान्छन्। देश बन्नुभन्दा ठुलो कुरा पहिचान बन्नुमा गर्वान्वित महसुस गर्छन्।

राष्ट्रिय पोसाक कुनै पनि राष्ट्रको पहिचान र गौरव हो, राष्ट्रलाई माया गर्नेहरू राष्ट्रिय पोसाक, राष्ट्रिय झन्डा, भाषालगायतका राष्ट्रियतासँग जोडिएका कुराहरूलाई सम्मान गर्छन्। विभिन्न मुलुकमा प्रायः महिला र पुरुषका लागि आफ्नै प्रकारको राष्ट्रिय पोसाक तोकिएको हुन्छ जसले उक्त देशको राष्ट्रिय पहिचानलाई इंगित गर्छ।

भारत, श्रीलंका, म्यान्मार आदि राष्ट्रका आ-आफ्नै राष्ट्रिय पहिरनहरु छन्। बेलायत, अमेरिका, युरोपियन राष्ट्रहरु सुट-टाई लगाएर खाली टाउकोमा प्रस्तुत हुन्छन्। उनीहरुको नेपालको जस्तो शताब्दीयौँ पुरानो आस्था र विश्वासले ठडिएको पहिचानको जग छैन। उनीहरु विश्वभर आफ्नो सुट पाइन्ट र टाइलाई युरोपेली पहिरनको रूपमा विस्तार होस् भन्ने ठान्छन्।

नेपाली संस्कृति ,पोसाक र प्राकृति पूर्वाधार वैदिककालदेखि नै अभिप्रेरित छ। टोपीको माथिल्लो भाग सगरमाथा स्वरुपको हिमालयको प्रतीकका रूपमा स्थापित छ। आजभोलि दौरा वा चोलो माथि ब्याच बनाएर नेपालको झण्डा लगाउने चलन पनि छ। जस्ले पोसाकको महत्त्वमाथि राष्ट्रिय पहिचान थपेको छ।

नेपाल अधिराज्यभरका विभिन्न जातजाति तथा सांस्कृतिक पहिचान बोकेका जनताको प्रतिनिधित्व उनीहरुको जनप्रतिनिधिहरुले गर्ने गर्दछन्। त्यस अर्थमा आवश्यकता अनुसार परम्परागत भेषभूषालाई पनि राष्ट्रिय रूपमा ग्रहण गरिनु उत्तम मानिन्छ। उदाहरणको लागि नेवार समुदायको प्रतिनिधित्व गर्ने प्रतिनिधिले नेवा पहिरनमा सजिएर जान सक्दछन्।

देशको सरकार प्रमुख जस्तो मान्छे सम्मानित ब्यक्तित्वको सम्मानित सदनमा राष्ट्रको इज्जतको लागि राष्ट्रिय पोशाक अनिवार्य हुनुपर्दछ। किनभने सदनमा बोलीने भाषा, एकले अर्कोलाई गरिने व्यबहार र उसले लगाएको पोसाकले देशलाई विदेशसम्म परिचित गर्छ।

उदाहरणका लागि छिमेकी देश भारतका सरकार प्रमुख नरेन्द्र मोदी सरकारी कामकाज र सदनमा सधैं मौलिक पोसाकमा देखिन्छन्। उनले एक थान सुट-पाइन्ट किन्न नसकेर हुन्? होइनन्! कैयन् विदेश भ्रमणका क्रममा उनले आफ्नो हिन्दी भाषामा मन्तव्य दिएका छन् मोदीले अंग्रेजी नजाने होइन। उनले सिङ्गो भारतबासीको पहिचानलाई प्रतिबिम्बित गरेका हुन्।

राष्ट्रिय पोसाक भन्ने कुरा सधैं लगाउनुपर्छ भन्ने छैन। तर देशको गरिमामय सदन र औपचारिक कार्यमा देशको प्रधानमन्त्री जस्तो उच्च ओहोदामा रहेका ब्यक्तिले पनि राष्ट्रिय पोसाक लगाउन सक्दैनन् भने मुलुकसँगको त्यो उपहास हो। सम्झिनुस् त! प्रधानमन्त्रीले राष्ट्रिय पोसाक नगाउने कर्मचारीले नलगाउने हो भने देशको राष्ट्रिय पोसाक भनेर कुन पोसाकमा गर्व गर्ने?

“बिरालो कालो होस् कि सेतो होस् मुसा मार्न पर्‍यो।” आजभोलि यो युक्तिसंगत मानिसहरुको बेग्लाबेग्लै धारणा छ। बालेन वा रवि रास्वपाले जे-सुकै गरोस् तर देश बन्नपर्‍यो। भ्रष्टाचार अन्त्य हुनुपर्‍यो। देशमा सुशासन कायम हुनुपर्‍यो। यस्तै-यस्तै कुराहरू सूनिन्छन्। हामी नेपालीपन, नेपाली मन र अन्तर्राष्ट्रिय जगतमा चिनिएको नेपाली पहिचान सकेर हामी कता जाँदैछौँ भन्ने चिन्ताको विषय बनेको छ।

विक्रम संवत् १८०० तिर पृथ्वीनारायण शाहका राजगुरु रंगनाथका दौरा–सुरुवाल नेपाल म्युजियममा देख्न सकिन्छ। सेनवंशी, बाइसी, चौबिसी, साना राज्यका जनतालगायत, बाहुन, क्षत्री, लिम्बु, राई, मगर, तामाङ आदि जातजातिहरुले पनि टोपी, दौरा-सुरुवाल प्रयोग गरिआएका थिए भन्ने कैयन जिउँदा इतिहास छन्।

दार्जीलिङमा नेपालीभाषी नरनारीहरुमा नेपाली पोशाक लगाउने लहर आएको छ। भुटानमा त्यहाँका नेपालीभाषी भुटानीहरुले आजपनि नेपाली पोसाक , संस्कार संस्कृति र चाडबाडहरू नेपाल जस्तै गरि मनाउने चलन रहिआएको छ। भारतको आसाम, कुमाउ, गढुवाल र उत्तराखण्डका नेपालीभाषी नेपाली पहिरन र पहिचानमा गर्व गर्छन्। इन्डोनेसियाका अधिकांश जनता पूर्वीय दर्शन र सभ्यताको पक्षपाती छन्।

हामी नेपालीले हामीलाई अझै गहिरो गरि बुझ्ने हो भने आजको विश्व हाम्रो खोजिमा निस्केको छ। अर्थात् नेपालको खोजीमा छ। केही समय अघि अमेरिकाको टेक्सास राज्यको डालस शहरबाट बौद्ध भिक्षुहरूको एक प्रेरणादायी समूहले ऐतिहासिक पैदल यात्रा सुरु गरेको थियो।

करिब २३ सय माइलको दूरी तय गर्दै उनीहरू टेक्सासदेखि वाशिङ्टन डिसीसम्मको यात्रामा निस्केका थिए। ती बौद्धमार्गीहरुले त्यो शान्तिपूर्ण यात्रालाई शान्तिका लागि पदयात्रा नाम दिएका थिए।

यहाँनेर रोचक प्रसंग के बुझ्न सकिन्छ भने शान्तिका यात्रामा निस्केका बुद्धका पथिक अमेरिकन् भिक्षुहरूसबैले नेपालको प्रतिनिधित्व गरिरहे थिए। उनीहरु भाषा र रंगले अमेरिकन् भएपनि उनीहरुको भेसाभुषा र गन्तव्य नेपाल थियो। लुम्बिनी थियो। बुद्ध थिए।

हिजो जे थियो त्यो समयसम्म मात्र थियो तर आज समयसँग परिवर्तन छ भन्दैमा परिवर्तन पनि ऊर्जावान र क्षमताशील हुँदै आएको भुल्न हुँदैन। नत्र इतिहास बन्छ। इतिहास यसकारण बन्छ,-”भएको सबै मासेर केही नभएजस्तो गरेपछि।” आज ठीक नयाँ गर्ने र ब्यक्तिगत रुपरङ्ग र कार्यशैलीमा फरक पहिचान बनाउने होडमा प्रधानमन्त्री बालेनले नेपाली पोशाक र आफू नेपाली नेपाली हुँ भन्ने आफ्नो पहिचान नभुलुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *