गोकुलगंगा गाउँपालिकाद्वारा आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरी गरेको निर्णय नमान्ने भएको छ। उक्त निर्णयलाई अव्यवहारिक ठहर गर्दै गाउँपालिकाले आइतबार पनि कार्यालय तथा विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
गाउँकार्यपालिकाको वैशाख १५ गतेको निर्णयअनुसार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूमा वैशाख १६ गतेदेखि आइतबारसमेत सेवा सञ्चालन हुने जनाइएको छ। कार्यालयहरू बिहान १० बजेदेखि नियमित रूपमा सञ्चालन गरिनेछ।
गाउँपालिकाले जारी गरेको सूचनामा हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको वार्षिक पाठ्य घण्टा पूरा नहुने र शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ। साथै, गाउँपालिकाको भौगोलिक अवस्था र न्यून इन्धन खपतका कारण इन्धन बचतको उद्देश्य यहाँ सान्दर्भिक नदेखिएको स्पष्ट पारिएको छ।
त्यस्तै, स्वास्थ्य संस्थाहरू आइतबार बन्द हुँदा दुर्गम क्षेत्रका बिरामीहरू उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रभावित हुने भएकाले सेवा निरन्तरता आवश्यक रहेको जनाइएको छ। जनसेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन पनि आइतबार कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
सूचना अनुसार गाउँपालिका तथा वडा कार्यालयहरू बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म, विद्यालयहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछन्। गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले सबै कर्मचारी, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।







डिसी नेपाल







Facebook Comment