जंगली भ्याकुर खाँदा एकको मृत्यु, आठ बिरामी
बागलुङ । घर नजिकैको जंगलबाट ल्याएको जंगली भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना बिरामी परेका छन्।
जंगलमा निगुरो टिप्न गएका स्थानीयले ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका वडा नं. ५ दाग घर भई हाल खार बस्ने ७२ वर्षीया फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। दीर्घरोगी समेत रहेकी घिमिरेको घरमै मृत्यु भएको हो।
भ्याकुर सेवनपछि बिरामी हुनेमा बडिगाड गाउँपालिका–५ खारका ५५ वर्षीया दुरपती कामी, ५५ वर्षीया विष्णु घिमिरे, २३ वर्षीया शारदा न्यौपाने, ४३ वर्षीय सुरेन्द्र विक, ६३ वर्षीय भोजराज घिमिरे, ६२ वर्षीया पुतली घिमिरे, ६५ वर्षीय खिमानन्द घिमिरे र १४ वर्षीय अबिसन घिमिरे रहेका छन्। बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बिरामी सबैको अहिले बुर्तिबाङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका सूचना अधिकारी पार्वती अर्यालका अनुसार बिरामीहरूमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने जस्ता विषाक्तता (फुड पोइजनिङ) का लक्षणहरू देखिएका छन्।
स्थानीयका अनुसार उनीहरू आइतबार नियमित जस्तै जंगलमा निगुरो टिप्न गएका थिए। सोही क्रममा खाजाको रूपमा दिउँसो जंगलबाटै खनेर ल्याएको भ्याकुर खाएपछि उनीहरू एकाएक बिरामी परेका हुन्।







डिसी नेपाल







Facebook Comment