नेपाली भाषा संस्कृति सिकाउन आयो पहिलो पाइला, ब्राण्ड एम्बास्डरमा केकी

डिसी नेपाल
४ जेठ २०८३ १६:१८

काठमाडौं। विश्वभर छरिएर रहेका नेपाली बालबालिकाहरुलाई लक्षित गरि सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ। उक्त डिजिटल स्कुलको सद्भावना दुत् (ब्रान्ड एम्बास्डर)मा अभिनेत्री केकी अधिकारी अनुबन्ध भएकी छिन्।

राजधानीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ शिक्षाविद् सुशिलभक्त माथेमा, वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेत्री तथा ब्राण्ड एम्बास्डर केकी अधिकारीले संयुक्त रूपमा उक्त ‘एप’को शुभारम्भ गरे।

विदेशी भुमिमा जन्मे हुर्केका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्न यो डिजिटल स्कुल प्रभावकारी बन्ने अपेक्षा आयोजकले लिएको छ। कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले पहिलो पाइला एपको सुभारम्भलाई युग परिवर्तनको क्षण भन्दै नेपाली भाषालाई संवर्धन र प्रवर्धन गर्न यो एपले महत्वपूर्ण भुमिका खेल्ने बताइन्। विदेशी भुमिमा रहने धेरै नेपाली र बालबालिकामा नेपाली मौलिक संस्कृति टाढिँदै गएको अवस्थामा यो अभियानले नेपाली कला, संस्कृति र मौलिक पहिचानसँग जोड्नको लागि सहजिकरण गर्ने विश्वास अधिकारीको छ।

नेपाली भाषालाई विश्वभर प्रवर्धन गर्ने उद्देश्यका लागि पहिलो पाइला एप ‘डिजिटल स्कुल’ को निर्माण गरिएको आयोजक संस्था पहिलो पाइला एजुकेसनले बताएको छ। पहिलो पाइला सञ्चालक मधु न्यौपानेले डिजिटल स्कुलमार्फत बालबालिकाहरुले रोजेको पाठ्यक्रम अनुसार आफ्नो भाषा र संस्कृती सिक्न सक्ने विश्वास व्यक्त गरे।

प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् माथेमाले भाषा हराए संस्कृति हराउने र संस्कृति हराए अस्तित्व हराउने भन्दै भेषभुषा, संस्कृती, कला र परम्परा केवल बोल्ने, पहिरने र मनाउने बिषयवस्तु मात्र नभएर कुनै पनि राष्ट्र वा समुदायको पहिचान र अस्तित्वको मुख्य आधार रहेको बताए। वरिष्ठ गायिका लोचन भट्टराईले नेपाली भाषा र संस्कृतीमाथिको बढ्दो अतिक्रमण रोक्न बालबालिकाबाटै यसको सिकाइ सुरू गराउन पहिलो पाइला कोशेढुङ्गा साबित हुने बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *