आगलागी पीडित परिवारलाई नगरपालिकाद्वारा राहत प्रदान
सिरहा। यहाँको लहान नगरपालिकाले आगलागीबाट घर जलेर पूर्णरूपमा नष्ट भएका परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ। गत वैशाख ३० गते लहान–१५ स्थित लाग्राहाका स्थानीय मदन थापामगरको घरमा विद्युत् सर्ट भई आगलागी भएको थियो।
पीडित परिवारलाई आज नगरप्रमुख महेशप्रसाद चौधरीले विपद् व्यवस्थापनअन्तर्गत आकस्मिक राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। राहत वितरण कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरी, वडा सदस्य एवं नगरपालिकाको न्यायिक समिति सदस्य रामकुमारी दासलगायतको उपस्थिति थियो।
नगरपालिकाको तर्फबाट पीडित परिवारलाई खाद्यान्नसहित खाना पकाउने भाँडाकुँडा र तत्काल ओत लाग्नका लागि त्रिपाल उपलब्ध गराइएको छ। राहत हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले आगलागीका सम्भावित घटनाका बारेमा सचेतना आवश्यक रहेको बताए। “दुःखको यो घडीमा नगर सरकार पीडित परिवारको साथमा छ। भोलि नगर प्रहरीसहितको टोली परिचालन गरेर जस्तापातासहितको नयाँ घर निर्माण सुरु गरिनेछ,” उनले भने।
पीडित थापामगरकी श्रीमती लिला मगरका अनुसार गत वैशाख ३० गते दिउँसो करिब २ः०० बजे घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो। आगलागीका कारण नगद रु ३५ हजार, लत्ताकपडा, खाद्यान्न तथा अन्य सम्पूर्ण सरसामान जलेर नष्ट भएका उनको भनाइ छ।
घर पूर्णरूपमा नष्ट भएपछि दुई छोरासहित चार जनाको सो परिवार विगत केही दिनदेखि छिमेकी फगुवा सदायको घरमा आश्रय लिएर बस्दै आएको मगरले बताउनुभयो। नगरप्रमुख आफैँले राहत दिनुका साथै घर बनाइदिने प्रतिबद्धता जनाएपछि पीडित परिवारले राहतको महसुस गरेको छ।







डिसी नेपाल







Facebook Comment