वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

डिसी नेपाल
५ जेठ २०८३ २२:५०

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका-६ घर भएका ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहाताल गाउँपालिका-२ घर भएका ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ घर भएका ३२ वर्षीय नवराज पौड्याल र मनाङ नासोँ गाउँपालिका-६ घर भएका ५८ वर्षीय ङवाङ लामा रहेका छन्।

पक्राउ मध्ये नारायणले कतार पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ४८ लाख रूपैयाँ, गोपालले इराक पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ, नवराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र ङवाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नारायणलाई धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ बाट आइतबार, गोपाललाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट र नवराजलाई काठमाडौं पुतलीसडकबाट सोमबार तथा ङवाङलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट शनिबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *