बालेन सरकारलाई घेर्दै हर्क साम्पाङ : संसदमा सशक्त प्रतिपक्षको भूमिकामा श्रम संस्कृत पार्टी

डिसी नेपाल
६ जेठ २०८३ १५:३०

काठमाडौं। संसद्‌मा प्रतिपक्षी दलको भूमिकामा रहेको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संसदप्रति पूर्ण रूपमा जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म सदनमा आफ्नो विरोध जारी राख्ने घोषणा गरेको छ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई जनसरोकारका विषयमा जवाफदेही बनाउन प्रतिपक्षको हैसियतमा आफ्नो दलले निरन्तर दबाब दिने स्पष्ट पारे।

अध्यक्ष साम्पाङले प्रधानमन्त्री शाह स्वयंले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकाले मन्त्रालयसँग सम्बन्धित गम्भीर प्रश्नहरूको जवाफ दिनबाट भाग्न नमिल्ने तर्क गरे।

पछिल्लो समय गृह मन्त्रालयको अग्रसरतामा सुकुम्वासी बस्ती खाली गराइएको विषयमा धेरै प्रश्नहरू उठेको भन्दै उहाँले ती विषयमा प्रधानमन्त्रीले संसद्‌को रोष्ट्रममा उभिएर स्पष्टीकरण दिनुपर्ने माग गरे।

संसद्‌मा प्रतिपक्षको आवाजलाई दबाउन खोजिएको संकेत गर्दै अध्यक्ष साम्पाङले भने, “हामी विरोध गरिरहन्छौँ, आवश्यक परे पाँचै वर्ष सदनमा यो आवाज उठाइरहन्छौँ। यदि सरकारको आलोचना गरेको र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन खोजेकै आधारमा हाम्रा सांसदहरूलाई निलम्बन गरिन्छ भने पनि हामी त्यसको सामना गर्न तयार छौँ।”

श्रम संस्कृति पार्टीले संसद्‌भित्र प्रतिपक्षी मोर्चाबाट सरकारका जनविरोधी कदम र अपारदर्शी कार्यशैलीविरुद्ध सम्झौताहीन संघर्ष गर्ने अडान राख्दै आएको छ। सरकारको आलोचना र घेराबन्दी गरेकै आधारमा आउन सक्ने सम्भावित राजनीतिक वा कानुनी कारबाहीका लागि समेत आफ्नो दल पूर्ण रूपमा तयार रहेको अध्यक्ष साम्पाङको भनाइ छ।

त्यसाे त श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार र संसद्‌को कार्यशैलीमाथि कडा खबरदारी गरिरहेका छन्।

“सरकार प्रमुख संसद् र जनताप्रति उत्तरदायी हुनैपर्छ,” आफ्नो आक्रामक शैलीमा प्रस्तुत हुँदै अध्यक्ष साम्पाङले भने, “यदि सुकुम्वासीका समस्या र जनताका जनसरोकारका मुद्दामा प्रधानमन्त्रीले संसद्‌लाई उपेक्षा गरिरहन्छन् भने हामी पाँचै वर्ष विरोध गर्न तयार छौँ। प्रतिपक्षको काम सरकारको गल्ती औँल्याउने हो, हामी त्यसमा पछि हट्दैनौँ।”

सरकारको आलोचना गरेको र संसदमा आवाज उठाएको निहुँमा प्रतिपक्षी सांसदहरूमाथि पूर्वाग्रह राखेर निलम्बन वा कारबाहीको धम्की दिइए पनि आफूहरू नडराउने साम्पाङले दाबी गरे। “संसदप्रति उत्तरदायी बनाउने कुरा उठाएकै आधारमा हामीलाई निलम्बन गरिन्छ भने पनि हामी त्यसका लागि तयार छौं, तर जनताको आवाज दबाउन दिँदैनौं,” उनले भने।

पार्टीका तर्फबाट सदनमा सशक्त प्रतिपक्षी मोर्चाको नेतृत्व गरिरहेका साम्पाङको यो कडा अभिव्यक्तिसँगै संसद्‌मा श्रम संस्कृति पार्टी र सत्तापक्ष रास्वपा-स्वतन्त्र गठबन्धनबीचको राजनीतिक टकराव अझ रोचक बन्ने देखिएको छ। सरकारलाई जनसरोकारका विषयमा चौतर्फी घेराबन्दी गर्ने रणनीतिमा साम्पाङको दल दृढ देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *