रास्वपा बाराका जिल्ला सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्कासित, साधारण सदस्यता समेत खारेज

डिसी नेपाल
८ जेठ २०८३ ८:५७

बारा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय संगठन विभागले स्वर्णकारको सदस्यता खारेज गरेको हो ।

केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई स्पष्टीकरण र कारबाहीको पत्र पठाउँदै पार्टीको साधारण सदस्यता खारेज गरिएको औपचारिक जानकारी दिएका हुन् । २०८३ वैशाख ३० गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले स्वर्णकारमाथि अनुशासनको कारबाही गर्दै पार्टीबाट हटाउने निर्णय गरेको पत्रमा उल्लेख छ । उक्त निर्णयको बोधार्थ मधेस प्रदेश समिति र बारा जिल्ला समितिलाई समेत पठाइएको छ ।

स्वर्णकार रास्वपाको स्थापनाकालदेखि नै बारा जिल्लामा पार्टीको नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएका थिए । तर, पछिल्लो समय उनीमाथि पार्टी हित विपरीतका गतिविधिमा संलग्न रहेको र आचरण सम्बन्धी गम्भीर उजुरीहरू केन्द्रीय अनुशासन आयोगमा परेका थिए ।

यसअघि वैशाख १५ गते नै केन्द्रीय अनुशासन आयोगले उनीविरुद्ध थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला सभापतिको हैसियतमा कुनै पनि काम नगर्न ‘अन्तरकालीन आदेश’ जारी गर्दै निलम्बन गरेको थियो । आयोगको छानबिनपछि केन्द्रीय समितिले उनलाई पार्टीमै राख्न अयोग्य ठहर गर्दै निष्कासनको अन्तिम निर्णय लिएको हो ।

पार्टीको निर्णयप्रति स्वर्णकारले सामाजिक सञ्जालमार्फत कडा असन्तुष्टि व्यक्त गरेका छन् । आफूविरुद्ध षड्यन्त्र गरिएको दाबी गर्दै उनले लेखेका छन्, “अन्ततः मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा छ ।”

उनले कुनै निष्पक्ष छानबिन नगरी, तथ्य र प्रमाणलाई बेवास्ता गर्दै आगामी जेठ ९ गते हुन लागेको पार्टीको विस्तारित बैठक तथा अधिवेशनअघि नै आफूलाई हटाइएको आरोप लगाएका छन् । अधिवेशनमा इमानदार कार्यकर्ताले आफूलाई पुनः जिल्ला सभापतिमा निर्वाचित गर्ने सम्भावनाबाट डराएर केही नेताहरूको दबाबमा यस्तो निर्णय गरिएको दाबी स्वर्णकारको छ ।

पार्टी स्थापनाकालदेखि बारामा बलियो पकड बनाएका स्वर्णकारमाथिको यो कारबाही र उनको सार्वजनिक आक्रोशले मधेस प्रदेशमा रास्वपाको आन्तरिक राजनीति तरंगित बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *