विधानविपरीत चल्ने र सदस्यता नवीकरण रोक्नेलाई पदमुक्त गर्छु: गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान विपरीत कार्य गर्ने र क्रियाशील सदस्यता नवीकरणमा अवरोध पुर्याउनेहरूलाई पदमुक्त गर्ने चेतावनी दिएका छन्। शनिबार बिहान विराटनगरमा नेता डा. शेखर कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।
थापाले सदस्यता अद्यावधिक गर्ने कार्यमा कसैले अवरोध गरेमा विधान अनुसार तत्कालै अर्को व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए। केन्द्रसँग क्रियाशील सदस्यहरूको स्पष्ट तथ्याङ्क रहँदा भविष्यमा उम्मेदवार चयन गर्न र साधारण सदस्यहरूको अधिकार स्थापित गर्न बलियो मद्दत पुग्ने उनको भनाइ थियो।
पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्दै उनले अनुशासन, निर्वाचन र सदस्यता व्यवस्थापन लगायतका सबै संयन्त्रहरू शीर्ष नेताहरूको सल्लाह र सहमतिमै गठन गर्न आफू तयार रहेको स्पष्ट पारे।
यसैबीच, सभापति थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन नियतवश लुकाइएको गम्भीर आरोप समेत लगाएका छन्। प्रतिवेदन परिमार्जन गर्न आयोगमाथि दबाब दिइएको दाबी गर्दै उनले आफ्नो दाबी गलत भए तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकार र आयोगलाई चुनौती दिए।







डिसी नेपाल







Facebook Comment