पोखरा बसपार्कको ५० वर्षे बेहाल: २०५ रोपनी जग्गा सुकुम्बासी र भूमाफियाको कब्जामा, अब चल्दैछ महानगरको डोजर
गण्डकी। मुलुकको पर्यटकीय राजधानी पोखरामा आधुनिक र सुविधासम्पन्न केन्द्रीय बसपार्क बनाउने योजना विगत पाँच दशक (५० वर्ष) देखि अधुरै बन्दा यसले समग्र पर्यटन र यातायात क्षेत्रलाई नै गिज्याइरहेको छ।
विसं २०३२ सालमा तत्कालीन पोखरा उपत्यका नगर विकास समितिले आधुनिक बसपार्क निर्माणका लागि पृथ्वीचोक क्षेत्रमा सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो।
तर, समयमै योजना कार्यान्वयन हुन नसक्दा राजनीतिक र सामाजिक आडमा भएको तीव्र अतिक्रमणका कारण सो विशाल जग्गा अहिले खुम्चिएर झण्डै ६० रोपनीमा मात्र सीमित हुन पुगेको छ।
बचेखुचेको ६० रोपनी जग्गामा पनि व्यवस्थित ढंगले बसपार्क सञ्चालन हुन सकेको छैन। जताततै अवैध रूपमा बनाइएका घरटहरा, फोहोरको दुर्गन्ध, जीर्ण पोलमा लत्रिएका बिजुली र इन्टरनेटका तार, धुलाम्मे सडक तथा हिलाम्मे खाल्डाखुल्डी पोखरा बसपार्कको वर्तमान कुरूप पहिचान बनेका छन्।
न त त्यहाँ व्यवस्थित टिकट काउन्टर छ, न बस राख्ने उपयुक्त ट्रयाक वा व्यवस्थित पार्किङ नै। बसपार्कको यो दयनीय अवस्थाका कारण दैनिक गुड्ने झण्डै ३०० सवारी साधनहरूले पृथ्वीचोक र राजमार्गकै छेउछाउबाट जोखिमपूर्ण रूपमा यात्रु चढाउने र ओराल्ने गर्दा पोखराको ट्राफिक व्यवस्थापन समेत गम्भीर चुनौती बनेको छ।
गण्डकी प्रदेशको यो राजधानी ६३ वटा जिल्लाको यातायात सञ्जालसँग जोडिएको भए पनि अहिलेसम्म यहाँ न्यूनतम पूर्वाधार (ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष, शौचालय र खानेपानी) समेत बन्न सकेको छैन।
पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीका अनुसार बसपार्क क्षेत्रको जग्गामा हाल स्थानीयबासी, पुरानो विमानस्थल बनाउँदा विस्थापित भएर सारिएका परिवार र सुकुम्बासीहरूले ठूलो बस्ती नै बसाएका छन्।
हालसम्म त्यहाँ ५७५ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारले आफ्नो विवरण वडा कार्यालयमा बुझाएका छन्। महानगरले हालै मात्र निस्साको प्रतिलिपि, नागरिकता, र नाता प्रमाणितसहितका कागजात बुझाउन सार्वजनिक सूचना जारी गरेको छ।
यसैबीच, सुकुम्बासी टोल सहजीकरण समितिका संयोजक असिम तामाङले विकासको विरोधी कोही पनि नभएको स्पष्ट पार्दै बसपार्कको जग्गा खाली गराउनुपूर्व वास्तविक सुकुमवासीहरूको उचित र न्यायोचित व्यवस्थापन हुनुपर्ने माग राखेका छन्। यसबारे महानगर प्रमुखसँग सकारात्मक छलफल भएको र छानबिनपछि मात्र प्रक्रिया अघि बढाउने आश्वासन पाएको उनले बताए।
नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले भने विसं २०६४ मै आफ्नो नेतृत्वमा आधुनिक बसपार्कको योजना अगाडि बढाइए पनि विविध कारणले रोकिन पुगेको स्मरण गरे।
उनले पृथ्वी राजमार्ग निर्माणपछि बाँकी रहेको १८७ रोपनी जग्गामै पूर्ण रूपमा बसपार्क बनाइनुपर्ने र कसैलाई राख्ने वा कसैलाई हटाउने पक्षपात नगरी राज्यले सुकुम्बासीहरूको उचित पुनस्र्थापना गर्नुपर्ने धारणा राखे।
हालसम्म कुन निकायले कति जग्गा घडेरीका रूपमा बेच्यो वा कति अतिक्रमणमा पर्यो भन्ने यकिन तथ्यांक कसैसँग नहुनु दुःखद भएको यातायात व्यवसायी योगेन्द्र केसीको भनाइ छ।
३५ दिने म्याद सकिएपछि नगर विकास समितिको १५ दिने अन्तिम अल्टिमेटम
अस्तव्यस्ततालाई चिर्न पोखरा महानगरपालिकाले गत वैशाख ४ गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो। उक्त अवधिको म्याद शनिबार सकिएलगत्तै पोखरा उपत्यका नगर विकास समितिले थप कठोर कदम चाल्दै शनिबार अर्को अन्तिम सूचना जारी गरेको छ।
समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रभित्र निर्मित पसल कबललगायतका सबै अवैध संरचनाहरू १५ दिनभित्र अनिवार्य हटाउन अल्टिमेटम दिएको हो।
तोकिएको मितिभित्र संरचना नहटाएमा प्रशासन आफैँले भत्काउने र सो क्रममा लाग्ने सम्पूर्ण प्राविधिक र प्रशासनिक लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै कानुनी रूपमा असुलउपर गरिने चेतावनी दिइएको छ। साथै, सो क्षेत्रभित्र लालपुर्जा भएका वास्तविक जग्गाधनीलाई आफ्ना प्रमाणिक कागजात बुझाउन ७ दिनको म्याद दिइएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो पटक बसपार्कको अतिक्रमित जग्गा खाली गराएरै छाड्ने दृढता व्यक्त गरेका छन्।
“झण्डै ५०० परिवार सुकुम्बासीका नाममा त्यहाँ बस्नुभएको छ, हामी वास्तविक अवस्थाको सूक्ष्म छानबिन गरी उहाँहरूको उचित व्यवस्थापन गर्नेछौं,” प्रमुख आचार्यले भने, “बसपार्क बन्नुपर्छ भन्नेमा सबै राजनीतिक दल र नागरिक समाजको सर्वपक्षीय सहमति छ, गुरुयोजना तयार भइसकेकाले अब जग्गा खाली गराएर निर्माण कार्य तत्काल अघि बढाइनेछ।”
महानगरले आफ्नो सुशासन र अतिक्रमण विरोधी अभियानलाई कति तीव्र बनाएको छ भन्ने कुराको प्रमाण आइतबार बिहानैदेखि फेवातालको मुहान मानिने फिर्केखोलाको खोलाघर क्षेत्रमा डोजर चलाएर संरचना भत्काउन सुरु गरिनुले पनि पुष्टि गर्दछ।
महानगरले फिर्केखोला (अँधेरीकुनादेखि गाईघाटसम्म) को ८ किलोमिटर बहाव क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यस्थल बनाउने योजनाका साथ काम थालेझैँ अबको केही दिनमै पोखरा बसपार्कमा पनि ऐतिहासिक रूपान्तरणको काम सुरु हुने संकेत देखिएको छ।







डिसी नेपाल







Facebook Comment