ग्यालेक्सी टीभीलाई अफिस खाली गर्न आदेश, नगरे बहुमूल्य सामान लिलाम गरिने

डिसी नेपाल
१२ जेठ २०८३ १०:०७

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्तका रूपमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार भएपछि गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’ पूर्ण रूपमा अलपत्र परेको छ।

पछिल्लो पटक काठमाडौं महानगरपालिकाले टेलिभिजन कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाइसक्न सार्वजनिक सूचना जारी गरेसँगै यो च्यानलको विघटन कानुनी रूपमै अन्तिम चरणमा पुगेको देखिएको हो।

महानगरले तोकिएको समयसीमाभित्र बाँकी बहाल रकम तिरेर सामान नलगेमा कानुनी प्रक्रिया बमोजिम ती सामानहरू लिलाम गरिने चेतावनीसमेत दिएको छ।

यो विवाद काठमाडौं महानगरपालिका वडा नं. ३ का घरधनी मृगेन्द्रप्रसाद मिश्र र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईबीचको हो। राई फरार भएपछि र टेलिभिजन बन्द भएपछि घरधनी मिश्रले ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ भनी महानगरको न्यायिक समितिमा मुद्दा हालेका थिए।

उक्त मुद्दामा न्यायिक समितिले २०८१ कात्तिक १४ गते नै वादी (घरधनी) को पक्षमा फैसला गर्दै बाँकी घरबहाल रकम र बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिएको थियो।

न्यायिक समितिको निर्णय कार्यान्वयन नभएपछि घरधनी मिश्रले उच्च अदालत पाटनको ढोका ढकढक्याएका थिए। उच्च अदालतले २०८२ साउन २८ गते दुई महिनाभित्र फैसला कार्यान्वयन गर्न महानगरपालिकाका नाममा परमादेश जारी गरेपछि मात्र महानगर एक्सनमा उत्रिएको थियो।

अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते महानगरको टोलीले भवन खाली गराउने कार्य अघि बढाएको थियो।

जीबी राई फरार रहेको र अन्य सञ्चालकहरू पनि सम्पर्कमा नरहेका कारण महानगरले घरजग्गा खाली गराएको ६ महिना बितिसक्दा पनि सामान बुझ्न गोरखा मिडियाका तर्फबाट कोही अघि सरेनन्।

कार्यालयका बहुमूल्य उपकरण र सामानहरू त्यसै थन्किएपछि घरधनी मिश्रले २०८३ वैशाख २१ गते ती सामान लिलाम गरिपाऊँ भनी महानगरमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा महानगरपालिकाले १५ दिने अन्तिम म्याद दिएको हो।

महानगरले भनेको छ ‘तोकिएको १५ दिनभित्र बाँकी बहाल रकम बुझाई सामान नलगेको खण्डमा महानगरको न्यायिक समितिको कार्यविधि बमोजिम ती सामानहरू लिलाम गरिनेछ।’

नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि (४के) भित्र्याउने दाबीसहित यो टेलिभिजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्व (प्रबन्ध निर्देशक) र जीबी राई लगायतको लगानीमा सञ्चालनमा आएको थियो।

तर, लामिछाने राजनीतिमा प्रवेश गरेसँगै व्यवस्थापकीय संकट चुलिएको र पछि अध्यक्ष जीबी राई सहकारी ठगी काण्डमा मुछिएर फरार भएपछि च्यानलको प्रसारण सधैँका लागि बन्द हुन पुग्यो। अहिले आएर टेलिभिजनका भौतिक सामानहरूसमेत कवाडीको मूल्यमा लिलाम हुने अवस्थामा पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *