काठमाडौंबाट सुर्खेत गइरहेको बस कपिलवस्तुमा दुर्घटना

डिसी नेपाल
१२ जेठ २०८३ ११:१२

काठमाडौं । काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ। महाराजगन्ज नगरपालिका वडा नम्बर ४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा गुडिरहेको बस आज बिहान अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा परेर बसका चालक र सहचालकसहित ३८ जना यात्रु घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको उक्त बस सडकमै पल्टिएपछि प्रहरी र स्थानीयको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। घाइतेमध्ये १२ जनालाई प्रहरीले आफ्नै गाडीमा राखेर अस्पताल पुर्‍याएको जनाएको छ।

जिल्ला अस्पताल तौलिहवाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेहरूमा बर्दियाकी पवित्रा देवकोटा र सुर्खेतका प्रकाश विक छन् । तौलिहवामा प्राथमिक उपचारपछि थप उपचारका लागि ३५ जना घाइतेलाई भैरहवाका अस्पतालहरूमा रिफर गरिएको छ।

दुर्घटनामा सकुशल रहेका अन्य यात्रुहरूलाई भने अर्को गाडीको व्यवस्था गरेर सुर्खेततर्फ पठाइएको छ भने दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *