कस्तुरी मृग मार्न थापिएका अवैध पासो नष्ट, जंगलमा ‘स्पाई क्यामेरा’ जडान गरिँदै
जोमसोम। मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा वन्यजन्तुको अवैध सिकार नियन्त्रण गर्ने उद्देश्यका साथ एक विशेष र वृहत् संयुक्त वन गस्ती सफलतापूर्वक सम्पन्न भएको छ।
इलाका संरक्षण कार्यालय, जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति, जोमसोमको संयुक्त आयोजना तथा नेतृत्वमा यो संरक्षण अभियान सञ्चालन गरिएको हो।
जैविक विविधता र दुर्लभ वन्यजन्तुको रक्षाका लागि चालिएको यस कदममा ठिनी र जोमसोमका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी तथा जिल्ला प्रहरी कार्यालय, मुस्ताङका सुरक्षाकर्मीहरूको समेत सक्रिय एवं उल्लेखनीय सहभागिता रहेको इलाका संरक्षण कार्यालयका प्रमुख राजेश गुप्ताले जानकारी दिए।
गस्तीका क्रममा वन्यजन्तुको आवतजावत हुने मुख्य मार्ग तथा झाडीहरूमा लुकाएर राखिएका अवैध पासोहरू फेला पारी बरामद गरिएको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले बताए।
बरामद गरिएका यी पासोहरू मुख्य गरी बहुमूल्य एवं संकटापन्न कस्तुरी मृगलाई पासोमा पारेर अवैध सिकार गर्ने नियतले सिकारीहरूले थापेका थिए। गस्ती टोलीले ती सबै अवैध पासोहरूलाई तत्कालै सङ्कलन गरी घटनास्थलमै पूर्ण रूपमा नष्ट गरेको छ।
वन र वन्यजन्तुको रक्षाका लागि आगामी दिनमा गस्तीलाई अझ बढी सघन र प्रभावकारी बनाउने योजना बनाइएको छ। शङ्कास्पद वन क्षेत्रहरूमा यस्ता संयुक्त गस्ती कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने कार्यालयले जनाएको छ।
सिकारी र तस्करहरूको गतिविधिमाथि कडा निगरानी राख्न घैतुङ जङ्गल तथा वरपरका क्षेत्रहरूमा आधुनिक जासुसी क्यामेरा (ट्रेपिङ क्यामेरा) तथा स्पाई क्यामराहरू जडान गर्ने तयारी भइरहेको संरक्षण सहायक ओलीले उल्लेख गरे। यस प्रविधिको प्रयोगले अवैध गतिविधिमा संलग्नहरूलाई सहजै पहिचान गरी कानुनी दायरामा ल्याउन ठुलो मद्दत पुग्ने विश्वास संरक्षणकर्मीहरूले लिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment