पूर्वाधार र पर्यटन योजनामा सरकारको जोड
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस
दमौली (तनहुँ)। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तनहुँ जिल्लासँग सम्बन्धित विभिन्न पूर्वाधार, ऊर्जा तथा पर्यटन प्रवर्द्धनका योजनालाई प्राथमिकतामा राखेको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सडक, विद्युत् प्रसारण, जलविद्युत् तथा पर्यटन क्षेत्रका महत्त्वपूर्ण योजनालाई अगाडि बढाइने घोषणा गरेका हुन्।
बजेट वक्तव्यअनुसार मुग्लिन–आँबुखैरेनी सडक निर्माण सुरु गरिने भएको छ। पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डलाई स्तरोन्नति गर्दै सुरक्षित, व्यवस्थित तथा सहज यातायात सञ्चालनका लागि निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ।
यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ। मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत्गृहको पारिपट्टिसम्म थप सडकको रेखाङ्कन गरिएको जनाइएको छ।
त्यसैगरी, राष्ट्रिय महत्वको तनहुँ जलविद्युत् आयोजनाको निर्माणलाई तीव्रता दिइने अर्थमन्त्री वाग्लेले बताउनुभयो। एक सय ४० मेगावाट क्षमताको उक्त आयोजना सम्पन्न भएपछि देशको ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ। हालसम्म आयोजनामा ७५.५ प्रतिशत भौतिक प्रगति भएको छ।
ऊर्जा पूर्वाधारअन्तर्गत न्यू दमौली प्रसारण लाइन निर्माणलाई समेत तीव्रता दिइने घोषणा गरिएको छ। प्रसारण लाइन विस्तारले विद्युत् आपूर्ति प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ।
पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै सरकारले परीक्षणका रूपमा व्यास–छाब्दीबाराही–बन्दीपुर–छिम्केश्वरी–लाब्दी–देवघाट मार्गमा साइकल ट्रेल निर्माण गर्ने योजना अघि सारेको छ। प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त रुटलाई साहसिक तथा ग्रामीण पर्यटनसँग जोड्दै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताइएको छ।
घोषित साइकल ट्रेलले तनहुँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एउटै रुटमार्फत जोड्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ। विशेषगरी बन्दीपुर, छिम्केश्वरी र देवघाटजस्ता चर्चित गन्तव्यलाई समेटिएको यस रुटले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाले साइकल ट्रेल निर्माणले ग्रामीण पर्यटन, होटल व्यवसाय, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सृजनामा सकारात्मक प्रभाव पार्ने बताएका छन्। साथै पर्यावरणमैत्री पर्यटन प्रवर्द्धनमा समेत यस्तो अवधारणाले महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बन्दीपुरका पर्यटन व्यवसायी वैशबहादुर गुरुङले बताए।







डिसी नेपाल







Facebook Comment