बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकको भाष्य चिर्छौं : अर्थमन्त्री वाग्ले
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले असाधारण काम गरेको दाबी गरेका छन्। बजेट सार्वजनिक भएको भोलिपल्ट आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘बजेट कार्यान्वयन हुँदैन’ भन्ने चार दशकदेखिको भाष्यलाई यसपालि पूर्ण रूपमा चिर्ने गरी काम गरिएको बताए।
आफूले मन्त्रालय सम्हाल्नासाथ अभूतपूर्व तवरले सबै मन्त्रालयलाई सशक्त र जिम्मेवार बनाइएको अर्थमन्त्री वाग्लेको भनाइ थियो। विगतमा धेरै बजेट ओगट्ने विकासे मन्त्रालयहरूले समेत पूँजीगत खर्च गर्न नसकेको अवस्था स्मरण गर्दै उनले यसपटक खर्च बढाउन विशेष नीतिगत व्यवस्था गरिएको जानकारी दिए।
‘भौतिक पूर्वाधार मन्त्रालय जस्ता ठूला निकायमा २४/२५ प्रतिशत मात्र पूँजीगत बजेट खर्च भइरहेको स्थिति थियो। धेरै ठूलो बजेट ओगटेर बस्ने तर खर्च भने एकदमै न्यून हुने प्रवृत्ति देखियो,’ अर्थमन्त्री वाग्लेले भने, ‘म गत चैत १३ मा अर्थ मन्त्रालय आउँदा चैत मसान्तको विवरण हेरेँ, पूँजीगत खर्च जम्मा १९/२० प्रतिशत मात्र थियो। कमसेकम विनियोजित बजेट त खर्च हुनुपर्यो नि !’
बजेट खर्च नहुने र आयोजनाहरू रोकिने कर्मचारीतन्त्रको पुरानो बहानाबाजीलाई रोक्न यसपटक विनियोजन विधेयकमै संशोधन गरिएको उनले बताए। ‘अन्तर-मन्त्रालय समन्वय र नीतिगत अस्पष्टताका कारण काम रोकियो भन्ने अवस्था नआओस् भनेर हामीले विनियोजन विधेयकमा संशोधन गरी जेठ १६ गते (बजेट भाषणको भोलिपल्ट) बाटै काम अघि बढाउन मिल्ने गरी सहजीकरण गरिदिएका छौँ,’ उनले भने, ‘यति भएपछि अब ‘अर्थ मन्त्रालयले फाइल अड्कायो वा बजेट निकास गरेन’ भनेर कसैले पन्छिन पाउँदैनन्।’
अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए। उक्त बजेट महत्वाकांक्षी नभई पूर्ण रूपमा कार्यान्वयनयोग्य र नतिजामुखी रहेको उनले जिकिर गरे।







डिसी नेपाल







Facebook Comment