इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्न: नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
चितवन, सौराहा। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित आवासीय “इसेवा ह्याकाथन २०२६” भव्य रूपमा सम्पन्न भएको छ।
गत जेठ १५ गतेदेखि सुरु भएको यस कार्यक्रमले नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित नवीन डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सफलताका साथ विश्राम लिएको हो।
इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील संस्था विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालसँगको विशेष सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो।
मुलुकमा नवप्रवर्तन संस्कृतिको विकास गर्ने, डिजिटल समाधानको खोजी गर्ने तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजित यस प्रतिस्पर्धामा देशभरबाट छानिएका २० वटा टोलीका ६३ जना युवा प्रतिभाहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
सहभागी प्रतिस्पर्धीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण र वातावरणीय दिगोपना जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा केन्द्रित रहेर आफ्ना नवीन डिजिटल समाधान तथा प्रोटोटाइपहरू निर्णायक मण्डलसामु प्रस्तुत गरेका थिए।
निर्णायक मण्डलको कडा मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन टोलीहरू घोषित गरिएका छन्, जसअन्तर्गत आदित्य कुमार साह तेली र पूजा यादव सम्मिलित टोली ‘कन्फ्युजन म्याट्रिक्स’ ले प्रथम स्थान हासिल गर्न सफल भयो।
त्यसै गरी, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपाने आबद्ध टोली ‘क्यास फ्लो’ द्वितीय हुन सफल भयो भने इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सम्मिलित टोली ‘आर्याना’ ले तृतीय स्थान हासिल गर्यो। प्रतिस्पर्धामा उत्कृष्ट बन्न सफल प्रथम, द्वितीय र तृतीय टोलीहरूले क्रमशः रु. ३ लाख, रु. २ लाख र रु. १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।
समापन समारोहलाई सम्बोधन गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ह्याकाथनका प्रतिस्पर्धीहरूको ऊर्जा र उनीहरूले प्रस्तुत गरेका समाधानहरूको मुक्तकण्ठले प्रशंसा गरे।
युवाहरूले प्रस्तुत गरेका यी सिर्जनशील तथा नवप्रवर्तनात्मक समाधानहरूलाई आगामी दिनमा अधिकतम सदुपयोग गरिने प्रतिबद्धता जनाउँदै खड्काले यसबाट डिजिटल अर्थतन्त्र र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
नव प्रतिभाहरूको यस्तै नवीन सोच र सिर्जनशीलताले नै भविष्यमा सुरक्षित र सुदृढ फिनटेक इकोसिस्टमको जग बसाल्ने उहाँको भनाइ थियो। इसेवाले उद्यमशीलता प्रवर्द्धन र डिजिटल अर्थतन्त्रको विकासका लागि आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।







डिसी नेपाल







Facebook Comment