रास्वपाद्वारा देशभर जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक, ६७ जिल्लामा नेतृत्व चयन गरिँदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सङ्गठनात्मक नीति अनुरूप केन्द्रीय समितिको निर्णय बमोजिम देशभर जिल्ला अधिवेशनहरू सुरु गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अगावै देशका ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको जानकारी दिनुभएको छ।
रास्वपाको मुख्य सङ्गठन रहेका अधिकांश जिल्लाहरूको अधिवेशन यसै चरणमा सम्पन्न हुनेछ भने बाँकी रहेका १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात् क्रमशः गरिने कार्यतालिका तय गरिएको छ।
पार्टीको घोषित तालिका अनुसार जेठ २३ गते देशभरका ३७ जिल्लाहरूको अधिवेशन एकैसाथ सम्पन्न हुँदैछ। यस दिन कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरीसहित ८ जिल्लामा अधिवेशन हुनेछ।
यस्तै मधेश प्रदेशका महोत्तरी र रौतहट गरी २ जिल्ला, बागमती प्रदेशका दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीसहित ९ जिल्लामा नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ। गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी गरी ५ जिल्ला, लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पासहित ८ जिल्ला, कर्णाली प्रदेशका कालिकोट र सल्यान गरी २ जिल्ला तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुला गरी ३ जिल्लाको अधिवेशन जेठ २३ गते नै सम्पन्न हुनेछ।
यसैगरी जेठ २४ गते देशका अन्य २९ जिल्लाहरूमा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ। सो दिन कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम गरी ४ जिल्ला, मधेश प्रदेशका सिराहा, धनुषा, पर्सा र सर्लाही गरी ४ जिल्ला, बागमती प्रदेशका चितवन र ललितपुर गरी २ जिल्ला तथा गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङ गरी ४ जिल्लाको अधिवेशन हुनेछ।
सोही दिन लुम्बिनी प्रदेशका अर्घाखाँची, रूपन्देही र प्युठान गरी ३ जिल्ला, कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्लासहित ६ जिल्ला र सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा गरी ६ जिल्लाको अधिवेशन सम्पन्न गरिनेछ।
सङ्गठनको विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि तय गरिएको छ। जिल्ला अधिवेशनहरूसँगै रास्वपाले प्रादेशिक अधिवेशनको तयारीलाई पनि तीव्रता दिएको छ। जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन सुरु हुने र पहिलो प्रदेश अधिवेशनका रूपमा बागमती प्रदेशबाट यसको शुभारम्भ गरिने महामन्त्री बुर्लाकोटीले स्पष्ट पार्नुभएको छ।







डिसी नेपाल







Facebook Comment