गोर्खा सैनिकको ‘दृढ संकल्प’ प्रशंसनीय, नेपाल-बेलायत सम्बन्ध अत्यन्त मूल्यवान्: राजा चार्ल्स तृतीय
काठमाडौं। बेलायतका राजा चार्ल्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खा सैनिकहरूको ‘दृढ संकल्प र प्रतिबद्धता’ को उच्च प्रशंसा गरेका छन्। नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइमा आबद्ध सैनिकहरूको सम्मान र हौसला बढाएका हुन्।
विशेष समारोहका बीच परेड स्थलमा पुगेका राजा चार्ल्सलाई गोर्खा सैनिकहरूले २१ तोपको सलामी दिएर सम्मान गरेका थिए। सो अवसरमा उनलाई परम्परागत नेपाली शैलीको ठुलो फूलको माला पहिर्याएर भव्य स्वागत गरिएको थियो।
सैनिकहरूलाई सम्बोधन गर्दै राजा चार्ल्सले गोर्खा सैनिकहरूको नयाँ इकाइ गठन गर्ने यो ऐतिहासिक कदमले बेलायत र नेपालबिचको दीर्घकालीन एवं अत्यन्त मूल्यवान् सम्बन्धलाई अझ प्रगाढ बनाएको उल्लेख गरे। परेडमा गोर्खाली सैनिकहरूको उत्साहजनक उपस्थिति देख्न पाउँदा आफूलाई अत्यन्त गर्व महसुस भइरहेको उनले बताए।
राजा चार्ल्सले अब यस नयाँ इकाहमार्फत गोर्खा सैनिकहरूले बेलायती सेनाको सम्पूर्ण क्षमता र जिम्मेवारीका विविध क्षेत्रमा उत्कृष्ट सेवा पुर्याउने नयाँ अवसर प्राप्त गरेको विश्वास व्यक्त गरे। उनले गोर्खालीहरूको सैन्य कौशलको सरहाना गर्दै भने, ‘यो महत्त्वपूर्ण नयाँ अध्यायको सुरुवातमा अगाडि बढ्ने तपाईँहरूको दृढता र प्रतिबद्धताका लागि म तपाईँहरू सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment